ताप्लेजुङको मैवाखोला ३ लेकुवामा भरुवा बन्दुक सहित पुरुष मृत अवस्थामा फेला
ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला ३ लेकुवामा भरुवा बन्दुक सहित एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। फेला पर्नेमा मैवाखोला ३ साँघुका स्थानीय अन्दाजी २५। २६ वर्षका फुर्वा रेञ्जु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो। स्थानीय तिलक सिंह लिम्बुको अलौची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको समयमा अचानक पड्किन गई शेर्पाको घाँटीमा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक शेर्पासँगै गएका भतिज सोनाम शेर्पालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बुको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ।


















