टिकाराम गौतम स्मृति पुरस्कार पत्रकार लङ्वालाई दिन सिफारिस
ताप्लेजुङ। यस बर्षको स्व.टिकाराम गौतम स्मृति पुरस्कार गोरखापत्रकी ताप्लेजुङ संवाददाता साहारा लङ्वा (लिम्बु) लाई दिन सिफारिस गरिएको छ । पत्रकार महासंघ ताप्लेजुङले रेडियो काबेलीका स्टेशन मेनेजर समेत रहनुभएका पत्रकार लङ्वालाई पत्रकारिता क्षेत्रमा पु¥याउँदै आएको योगदानको मुल्याङ्कन गर्दै पुरस्कारका लागि सिफारिस गरिएको महासंघका सचिव कृष्ण फुरुम्बोले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी बैसाख ९ गते स्व. गौतमकाे स्मृति दिवसका दिन कार्यक्रम गरी पुरस्कार प्रदान गरिनेछ । पत्रकार लङ्वा पत्रकार महासंघ ताप्लेजुङका सह–सचिव साथै गोरखापत्र संवाददाता साथै रेडियो कावेलीको स्टेशन मेनेजर समेत हुनुहुन्छ । लङ्वा दशकौँदेखि जिल्लामा रहेर सञ्चार जगत साथै समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । प्रतिष्ठानले हरेक बर्ष एक जना उत्कृष्ट पत्रकार, एक जना उत्कृष्ट समाजसेवी र ताप्लेजुङका रेडक्रस उपशाखा मध्ये एक उत्कृष्टलाई सम्मान गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको सभापतिको जिम्मेवारी समेत सम्हाल्नु भएको स्व. गौतमको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रको स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले २०६८ सालमा टीकाराम गौतम स्मृति प्रतिष्ठान स्थापना गरी सोहि प्रतिष्ठानमार्फत सम्मानका कार्यक्रम गर्दै आईरहेको छ ।


















