ह्वात्तै बढ्यो अलैंचीको भाउ

वेलकम खबर
२७ जेष्ठ २०७८, बिहीबार ०६:४२

झापा। विगत केही वर्षदेखि अलैंचीको मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निराश बनाउने गरेको छ । मूल्यमा आउने उतारचढावले किसानले खेती घटाउने र व्यवसायी व्यापारबाटै पलायन हुने गरेका समाचार आउने गरेका छन् ।
यस वर्ष पनि सिजन सुरु भएसँगै बजारमा निस्किएको अलैंचीले प्रतिमन २३ हजार रुपैयाँसम्म मूल्य पायो । कोरोना महामारीले मूल्य नपाउने डरले किसानले धमाधम अलैंची बिक्री गरे ।
तर, निषेधाज्ञा सुरु भएसँगै अलैंचीको भाउ ह्वात्तै बढ्यो । हिजोआज अलैंची ३५ हजार रुपैयाँसम्म कारोबार भइरहेको झापा बिर्तामोडका अलैंची निर्यातकर्ता ओमकृष्ण बिमलीले बताए । निषेधाज्ञायता अलैंचीको मूल्यमा प्रतिमन १२ हजार रुपैयाँ वृद्धि भएको छ । “१५ दिनयता अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढेको छ,” बिमलीले भने, “अहिले नेपाली अलैंचीको माग भारत हुँदै तेस्रो मुलुक पाकिस्तान, दुवै पुग्ने गरेको छ ।”
केही दिनभित्रै अलैंचीको मूल्य ४० हजार रुपैयाँसम्म पुग्ने व्यापारीको अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली उत्पादनले धान्न सकिरहेको छैन । भारतमा अलैंचीको फसल मरेकाले, नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको व्यापारीको भनाइ छ ।
एकपटक फसल मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउने भएकाले आगामी वर्ष अलैंचीको मूल्य थप बृद्धि हुने बिमली बताउँछन् ।
“भारतसँगै तेस्रो मुलुकका मुस्लिम समुदायका नागरिकले गत वर्ष कोभिडका कारण इद पर्व मनाएनन्,” बिमलीले भने, “इद पर्वमा अलैंचीको खपत बढ्छ, केही दिनयता भारतमा कोभिड संक्रमणको दर घट्दो छ, यस वर्ष इद पर्व मनाउन सकिने भन्दै अलैंचीको माग बढेको छ ।”
चालू आर्थिक वर्षको १० महिनामा ६ अर्ब रुपैयाँबराबरको अलैंची निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाउँछ । मूल्य वृद्धिलाई स्थिर राख्न सके यस वर्ष ७ अर्ब ५० करोड बढीको अलैंची निर्यात गर्न सकिने अलैंची व्यवसायी महासंघका महासचिव सुभाष भट्टराईले बताए ।
“गत वर्ष कोरोना महामारीले अलैंची बिक्री भएन” उनले भने, “यस वर्ष महामारीमा नै मूल्यमा वृद्धि भयो ।” व्यापारीसँग अझै २ अर्ब रुपैयाँबराबरको अलैंची मौज्दात रहेको भट्टराई बताउँछन् ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले चालू आर्थिक वर्षको १० महिनासम्ममा ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार बराबरको ७५ लाख ५० हजार ३ सय ९७ केजी अलैंची निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी हो । अघिल्लो आवको १० महिनाको अवधिमा ३ अर्ब ३४ करोड २९ लाख ६२ हजारबराबरको ४१ लाख ६१ हजार ९ सय ३ केजी निर्यात भएको थियो । अलैंची छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने गर्छ ।karobardaily

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*