सुकुम्बासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्छौँ: प्रधानमन्त्री शाह

वेलकम खबर
बैशाख ११, २०८३

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने गरेको उल्लेख गर्दै ज्यान जोगाउनसमेत संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको बताए।उनका अनुसार यो समस्या वर्षौंदेखि निरन्तर दोहोरिँदै आएको भए पनि अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको छ।
प्रधानमन्त्री शाहले खोला किनारका बस्तीहरूका कारण डुबानको जोखिम मात्र नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको उल्लेख गर्दै यसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको बताएका छन्।

उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे।प्रधानमन्त्री शाहले आफूले चुनावी प्रतिबद्धता तथा सरकारका प्राथमिक योजनाअनुसार सुकुम्बासी व्यवस्थापनलाई अघि बढाइने उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गरिने बताए।

साथै, देशभरका वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*