ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा
ताप्लेजुङ । संघीय सरकारले हप्ताको दुईदिन विदा दिने निर्णय गरेपनि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भने हप्ताको एक दिन मात्रै विदा दिने भएको छ ।ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको हो । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुने छ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुने छ ।
अध्यक्ष पोमूले जानकारी दिनुहुँदै सरकारी कार्यालयहरू प्रायः बिदाका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यालय समय पुरानै आईतवार देखि विहिवार सम्म १० बजे देखि ५ सम्म र शुक्रवार १० बजे देखि ३ सम्म कार्यालय सञ्चालन हुने बताउनुभयो ।
त्यसैगरी, अत्यावश्यक कामका लागि बिदाको दिनमा समेत कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ) उपलब्ध गराएर सेवा निरन्तरता दिइने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस अघि नेपाल सरकारले कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गर्दै सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । तर आठराई त्रिवेणी गाउँपालिकाले भने सातामा एक दिन शनिबार मात्र बिदा दिने भएको हो ।



















