दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २६ गते हुने
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा अबस्थित तिम्बुङ पोखरीको संरक्षण तथा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता यो वर्ष पनि आयोजना हुने भएको छ । भदौ २६ गते उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा सम्वर्द्धन समितिले जानकारी गराएको छ । कार्यक्रम संयोजक अमिर राईले केन्जोको प्रचारप्रसार तथा तिम्बुङ पोखरीमा वर्षैपिच्छे अधिक सङ्ख्यामा पर्यटक भित्र्याउने योजना अनुरूप आयोजना गरिएको शुक्रबार फुङ्लिङमा पत्रकार सम्मेलनमा मार्फत जानकारी गराउनुभयो । ट्रेल रन प्रतियोगिता ४ हजार ३ सय ५० मिटर उचाइको तिम्बुङ पोखरीबाट सुरु भई ३ हजार ८ सय मिटरको उचाइमा पाङ्दुवामा झरेर पुन ४ हजार २ सय मिटर उचाइको ठूलो भञ्ज्याङलाई अन्तिम बिन्दु मानिएको छ ।
अघिल्लो वर्ष ७. ८ किलोमिटर दूरी रहेकोमा भने यस वर्ष १५ किलोमिटर दूरी निर्धारण गरिएको आयोजकले जनाएको छ । संयोजक राईका अनुसार खुल्लातर्फ प्रथम द्वितीय र तृतीय हुनेले ५० हजार ,३५ हजार र २० हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ प्रथम हुनेलाई मात्र २५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।सिदिङवा गाउँपालिकाभित्रका स्थानीय प्रथम हुनेलाई नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। यस वर्ष ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रचार र प्रसार तथा सम्बन्धनमा योगदान पुर्याउने एकजना पत्रकारलाई २५ हजार सहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगिता सम्पन्न गर्न सिदिङमा गाउँपालिकाले ११ लाख, पर्यटन कार्यालय काँकरभिट्टाले ५ लाख बजेट ब्यवस्थापन गर्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा १६ लाख १८ हजार खर्च हुने आयोजकको अनुमान छ ।


















