प्रेस युनियनको स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ । फरक क्षमता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण तथा शुभकामना आदान-प्रदान गर्दै नेपाल प्रेस युनियन ताप्लेजुङले स्थापनाको ३४ औं दिवस मनाएको छ । प्रेस युनियन ताप्लेजुङका अध्यक्ष सन्तोष पुर्कुटीका अनुसार युनियनले फुङलिङस्थित बालमन्दिर आधारभूत बिद्यालयका फरक क्षमता भएका बिद्यार्थीलाई कापी, डटपेन र पेन्सिल सहितका शैक्षिक सामग्री बितरण गरेको हो ।
स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री बितरणका साथ शुभकामना आदान-प्रदान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले लोकतन्त्रभित्र मात्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र मर्यादित हुने भएकोले लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमका अन्य वक्ताहरुले युनियनको स्थापना दिवसको अवसरमा शुभकामना दिदैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संस्थागत विकासमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्नु भएको थियो । कार्यक्रममा बालमन्दिर आधारभूत बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,जिल्ला अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष साहारा लङ्वा, प्रेस सेन्टरका जिल्ला अध्यक्ष जीवन कालिकोटे सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बालमन्दिर आधारभूत बिद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष शान्ति मादेन, पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष केशवप्रसाद भट्टराई, प्रेस युनियनका पूर्व जिल्ला अध्यक्ष धर्मप्रसाद पौड्याल, प्रेस युनियन ताप्लेजुङका प्रमुख सल्लाहकार देवराज गुरुङ सहितको उपस्थिति रहेको प्रेस युनियन ताप्लेजुङका सचिव तरुण भारतीले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित सबैलाई प्रेस युनियन ताप्लेजुङका उपाध्यक्ष कृष्ण फुरुम्बो लिम्बूले स्वागत गर्नु भएको थियो ।-eujyalopost.