पाथीभरा पदमार्गमा नेपाल प्रहरीले पुननिर्माण गर्यो फलैचा

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आउने भक्तजनहरूको यात्रा अझ सहज र सुरक्षित बनाउनका लागि पाथीभरा पदमार्गमा नेपाल प्रहरी फलैँचा निर्माण गरिएको छ ।
फुङलिङ नगरपालिका १०मा ३,६५० मिटरको उचाइमा पर्ने पदमार्गमा नेपाल प्रहरी फलैँचाको आइतबार उद्घाटन गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समिति, सिम्बु सामुदायिक वन उपभोक्ता समूह ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सक्रियतामा, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फलैँचा निर्माण गरि उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलको विशेष उपस्थिति एवम् पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ लगायतको उपस्थिति थियो ।
फलैँचा निर्माणमा सहजीकरण गर्नुभएका क्षेत्र विकासका कर्मचारी तथा फुङलिङ नगरपालिका १० निवासी राजेन्द्र महतालाई सम्मान पनि गरिएको छ । कार्यक्रमको अन्त्यमा प्रहरी टोली र पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीहरूद्वारा फलैंचाको वरपर वृक्षरोपण समेत गरिएको छ ।