पाथीभरा जादै गरेको टयाक्सीमा आगलागी ४ जनाको मृत्यु २ घाईते
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ। दुई जना गंभिर घाईते भएका छन । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बोलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो। आगलागीमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो ।
आज सोमबार बिहान करिब ५ः०० बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रहरी जनाएको छ । मृत्यु हुनेमा सवारी चालक ताप्लेजुङ फुङ्लिङ नगरपालिका १० फुरुम्बुका दुर्गा भट्टराई ,झापा भद्रपुरका विनोद पौडेल र निजकै श्रीमती सरिता पौडेल र ललितपुरकी आध्या आचार्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो ।
गाडीमा सवार ललितपुरकी सबिना आचार्य र उनको छोरा भबिमय आचार्य को अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। ताप्लेजुङ फुङ्लिङबाट पाथिभारा दर्शनका लागि जाँदै गरेको मे १ च ३०११ नम्बरको बुलेरो बिजुलीको पोलबाट खसेको तारमा ठोकिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रवि रावलले बताउनुभयो। उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी रहेको बताइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रबि रावलको नेतृत्वमा १५ जनाको टोली परिचालित रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।


















