कञ्चनजङ्घा महोत्सवको अवसरमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
ताप्लेजुङ । कञ्चनजङ्घा महोत्सव २०८२ को अवसरमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । कञ्चनजङ्घा हिमालको सफल आरोहण भएको ७०औं वर्ष पुगेको अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा भलिबल प्रतियोगिता हुने भएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा फुङलिङमा बुधबार पत्रकार सम्मेलन गरि पालिका स्तरीय भलिबल प्रतियोगिता आगामी बैशाख तीन गतेदेखि सात गतेसम्म सञ्चालन बताईएकोछ । खेल संयोजक सन्तोष लिम्बूका अनुसार प्रतियोगितामा सिदिङवा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र पाँचथरको याङवरक गाउँपालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले दुई लाख आठ हजार ५८६ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद एक लाख आठ हजार ५८६ रुपियाँ प्राप्त गर्ने छन् । वेस्ट डिफेन्डर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट सर्भर र बेस्ट क्विकरका लागि नगद तीन हजार पाँच सयको दरले उपलब्ध गराइने छ भने सर्वोत्कृष्ट खेलाडीका लागि नगद पाँच हजार रुपियाँ प्रदान गरिनेछ । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद दुई हजार पाँच सय रुपियाँ गरिने आयोजकले बताएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा महोत्सव स्थल तय गरिसकिएकोछ ।


















