आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिका भरिका ७० वर्षदेखि माथिका ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गरेको छ । गाउँपालिकाले फागुन ७ देखि ११ गतेसम्म प्रत्येक वडामा गएर ज्येष्ठ नागरिकको दाँतको नाप तथा आकार लिएको थियो । गाउँपालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरी –६ सुनसरीको सहयोगमा ज्येष्ठ नागरिकको दाँतको आकार तथा नाप लिएको पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक समिर प्रधानले बताउनुभयो । उहाँका अनुसार ५९ जनामध्ये ४१ जनाको पूर्ण रुपमा दाँतको नाप लिइएको थियो । आकार लिइएका ज्येष्ठ नागरिकको दाँत तयार भएर प्रदान गरिसकिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउनुभयो । अध्यक्ष पोमू अनुसारका नागरिकको दाँतको आकार अनुसारको दाँत तयार भएपछि उपलब्ध गराइएको हो ।
जनस्वास्थ्य निरीक्षक प्रधानका अनुसार १ नम्बर वडा निगुरादिनमा १५ जनाको दाँतको नाप लिइएको थिइयो । जसमध्ये १० जनाको पूर्ण रुपमा, ५ जनाको आंशिक रुपमा दाँत लगाइएको छ । वडा २ फूलबारीमा ८ जनाको पूर्ण रुपमा र ६ जनाको आंशिक रुपमा दाँत लगाउनेगरि नाप लिइएको थिइयो । त्यस्तै वडा नं ३ हाङपाङबाट ११ जनालाई पूर्ण रुपमा र ५ जनलाई आंशिक रुपमा दाँत लगाइदिनेगरि नाप लिइएको थिइयो । वडा नं ४ र ५ चाँगेबाट १२ जनाको पुर्ण रुपमा र २ जनाको आंशिक रुपमा दाँत लगाइदिनेगरि नाप लिइएको निरीक्षक प्रधानको भनाइ छ । सोही अनुसार उहाँहरुलाई दाँत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।