सान्थाक्राको सडकमा मृत अवस्थामा फेला परेका केदेमको ट्रकको ठक्करबाट मुत्यु भएको पुष्टि, ट्रकको चालक प्रहरीको नियन्त्रणमा
ताप्लेजुङ । ताप्लेजुङमा सवारी ज्यान मुद्दाको कसूरमा एक जना पक्राउ परेका छन् । कसुरमा पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५, का २३ वर्षीय सन्जीत कामी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी बिबेक बस्नेतले बताउनुभयो । गत फागुन २० गते बेलुका दोभान बजारको बाटो हुँदै घटनास्थल तर्फ चालक कामीले चलाएको प्र १–०२–००१ ख ९३३४ नम्बरको ट्रकले मेरिङ्देन गाउँपालिका–२, सान्थाक्राका हर्कविर केदेमलाई ठक्कर दिएर मुत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
फागुन २१ गते बिहान केदेमको शव नेवारे खोल्साको सडकको हिलोमा शरिर छेद बिछेद भएका अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरि फागुन २४ गते शनिवार फेला पारी पक्राउ गरि मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १४ बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान भइरहेको सुचना अधिकारी बस्नेतले बताउनुभयो ।


















