आरोहणको ७० वर्ष पुगेको अवसरमा कञ्चनजंघा हीरक महोत्सव आयोजना गरिने
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको ७० बर्ष पुगेको अवसरमा कञ्चनजंघा हिरक महोत्सव आयोजना गरिने भएकोछ ।
कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आइतवार फुङलिङमा पत्रकार सम्मेलन मार्फत २०८२ साल बैशाख ५–७ गते सम्म ३ दिन ताप्लेजुङको फक्ताङलुङ ६ लेलेपमा महोत्सव सञ्चालन गर्ने बताएको हो ।
परिषद्का सदस्य सचिव मनकुमार राईले कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटयिक क्षेत्रहरुको प्रचार–प्रसार,पदयात्राका लागि आवह्वान,स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम,स्थानीय उत्पादनको प्रवद्र्धन र संस्कार र संस्कृतिमा आधारित स्थानीय समुदायका खाद्य परिकारको प्रवद्र्धन सहितका कार्यक्रम सञ्चालन गरेर हिरक महोत्सव मनाइने बताउनुभयो । परिषदले हिरक महोत्सव सम्पन्न गर्नका लागि ७२ लाख ६१ हजार रुपैयाँको खर्च हुने अनुमान गरेकोछ ।
कञ्चनजंघाको पहिलो पटक बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले सफल आरोहण गरेको मानिन्छ । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बुका अनुसार लेलेपमा सम्पन्न भए पछि काठमाडौंमा राष्ट्रिय तहको कार्यक्रम सञ्चालन गर्ने योजना रहेकोछ ।



















