पूर्व सिडिओ चन्द्र कार्कीले देखेको भानुको वार्षिक उत्सव !

६० वर्ष अगाडि कुरा
चन्द्र श्री कार्की
चैत्र १, २०८०

गोरखप्यारा श्रेष्ठ सामान्य कुरामा चित्त बुझाएर बस्ने खालका व्यक्ति थिएनन् । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, साहित्य, सगीत लगायतका गतिविधिमा लागिपरेको देखिन्थ्यो । यसै बिचमा भानु हाइस्कुलको वार्षिक उत्सव आयोजना गर्ने भयो । गोरख सरले ताप्लेजुङको इतिहासमा अभूतपूर्व वार्षिक उत्सव गर्ने योजना बनाएर बजारका प्रतिष्ठित व्यक्तिहरू, स्थानीय सरकारी कार्यालयका प्रमुखहरू, व्यापारीहरु, सचालक समिति, शिक्षक सबैलाई सामेल गरेर एउटा वृहत् बैठक बोलाउनुभयो । सो बैठकमा व्यापक उपस्थित थियो । त्यो बैठकबाट खेलकुद प्रतियोगिता, साहित्य गोष्ठी, सांस्कृतिक कार्यक्रम, वार्षिक उत्सवलाई अभिभावक दिवश जस्ता कार्यक्रम गर्ने निर्णय गरी सञ्चालक समितिको सेक्रेटरी (फुङ्लिङको प्रधानपन्च) को अध्यक्षतामा मूल समारोह समिति, हेडमास्टर गोरखप्यारा समितिको सदस्य सचिव तोकियो । समितिमा सञ्चालक समितिका सबै सदस्य, स्कुलका सबै शिक्षक, कार्यालय प्रमृुखहरू, प्रहरीहरू, बजारका गन्यमान्य व्यक्ति, साहित्यकारहरु र सक्रीय युवाहरू समारोह समितिमा रहेका थिए । मूल समितिले विभिन्न उपसमितिहरू पनि गठन ग¥यो । निर्माण, साजसज्जा, स्मारिका प्रकाशन, साहित्यिक गोष्ठी, खेलकुद, सांस्कृतिक कार्यक्रम उप समितिहरू गठन गरियो । भीमबहादुर श्रेष्ठ निर्माण उपसमिति, शिक्षक रमेशकुमार श्रेष्ठ साजसज्जा उपसमिति, साहित्यिक गोष्ठी उपसमितिमा साहित्यकार सरोज शाक्यलाई तोकियो । सांस्कृतिक उपसमितिमा गोरखप्यारा श्रेष्ठ संयोजक र सहसंयोजकमा बालकृष्ण श्रेष्ठ र चन्द्र कार्की । आर्थिक उपसमितिमा सहायक हेडमास्टर शिवकुमार श्रेष्ठको संयोजकत्वमा बजारका साहुमहाजनहरू रहेका थिए ।

चैतको अन्तिम सातासम्म स्टेज निर्माण, स्वागतद्वार, ध्वजा–पतकालगायत सजावटका सबै काम सकिएको थियो । वार्षिक कार्यक्रमको पुर्वसन्ध्यामा तोक्मेडाँडा र भानु हाइस्कुल बेहुली झैं सिंगारिएर सजिसजाउ भएको थियो ।

सहित्यिक उपसमितिले विद्यार्थीहरूको प्रतियोगितात्मक कवि गोष्ठी, खुल्ला साहित्यिक गोष्ठी र लोकगीत गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको थियो । गोरख सरले वार्षिक उत्सवको उपलक्षमा भानु स्मारिका निकाल्ने प्रस्ताव गर्नुभयो । स्मारिकाको लागि गोरख सर, ईश्वरी गुरु, रामदास श्रेष्ठ, सरोज शाक्य र म बसेर रचनाहरू छनौट गरेका थियौं । त्यो बेला म कविता लेख्दा चन्द्र कार्की शशी नामले लेख्ने गर्दथें । भानु स्मारिकामा मेरो एउटा कविता प्रकाशित भएको सम्झन्छु तर शिर्षक भने सम्झना छैन । गोरख सरको अग्रसरता र रामदास श्रेष्ठ, सरोज शाक्य, रुद्र शाक्यको सत्प्रयासबाट भानु स्मारिका (सायद विराटनगरबाट छपाएर ल्याएको हुनुपर्छ) प्रकाशित भयो । यो एक ऐतिहासिक घटना भन्दा फरक नपर्ला ।

गोरखप्यारा सरले स्कुलको वार्षिक कार्यक्रममा अन्य स्कुललाई सहभागी गराउने कामको थालनी गर्नुभयो । खेलकुद र साहित्यिक प्रतियोगितामा खोक्लिङ, थेचम्बु, सिनाम, हाङपाङ र मेदिबुङको संस्कृत विद्यालयबाट पनि सहभागिता भएको थियो । खेलकुदमा फुटबल, भलिबल, दौडहरू, कक्फाइट, लङजम्प, हाइजम्प, छेलो हान्ने, गुच्चा दौड, सियो धालो दौड, क्वाइस रेस, बोरा दौड जस्ता खेलहरूको विद्यार्थीहरू बिच प्रतिस्पर्धा गराइएको थियो । गोरख सरले विद्यार्थीहरू बिच प्रतिस्पर्धा गराउन हाउसहरू पनि बनाएका थिए । सो अवसरमा म्युजिकल चियरको खुला प्रतिस्पर्धा पनि गराइएको थियो । गोरख सरको प्रत्यक्ष अप्रत्यक्ष निगरानी र मार्गनिर्देशनमा ती सबै उपसमितिका कामहरू भएका थिए ।

गोरख सर पुरुष पात्रलाई महिला बनाएर नाटक मन्चन गर्ने पक्षमा थिएनन् । तर पहिलो वर्षको कार्यक्रममा गोरख सरको त्यो चाहना पूरा हुन सकेन । नाटक ‘कोही किन बर्बाद होस्‘मा नायक गोरखप्यारा श्रेष्ठ आफै भए भने नायिकाको भूमिकामा बालकृष्ण श्रेष्ठ थिए । अन्य बाल कलाकारहरूमा भने छात्रछात्राहरूलाई नै अभिनय गराइएको थियो । कार्यक्रममा छात्राहरूलाई उतार्न कठिन थियो । गोरख सर र बालकृष्ण श्रेष्ठ छात्राहरूको मातापिता र दाजुभाइलाई मनाउन पटकपटक छात्राहरूको घरघरमा पुगे । छानिएको पात्रहरूलाई सुरक्षित रूपमा ल्याउने, पु¥याउने पूरा जिम्मा लिने वचन दिनुभयो । कतिपय अभिभावकबाट बल्लतल्ल कार्यक्रममा जान दिन स्वीकृति दियो ।

गोरख सरको भानु स्कुलमा ‘अभुतपुर्व वार्षिक उत्सव’ मनाउने चाहना अभुतपूर्व रुपमै सम्पन्न भयो । फुङ्लिङवासी सबैले वार्षिक कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गरे । तर उनी आफु संयोजक बनेको सांस्कृतिक कार्यक्रमको प्रस्तुतिप्रति भने असन्तुष्टि व्यक्त गर्ने गर्दथे । नाटकमा नायिका बनाउन पुरुषलाई साडी लगाइदिनु परेकोमा उनी दुःखी थिए ।

२०२२ सालको वार्षिक उत्सवको लागि केही नयाँ कुराहरु अगाडि सारियो । छात्राहरू बिच मात्रै केही खेलहरूको प्रतिस्पर्धा गर्ने, छात्राहरूको बिचमा मात्रै गायन प्रतियोगिता गर्ने, यो वर्षदेखि केटाले साडी लगाएर केटीको भूमिका नगर्ने ।

बालकृष्ण श्रेष्ठको निर्देशनमा नेपाली नाटक मन्चन भएको थियो । जसमा महिला पात्रहरूमा करुणा श्रेष्ठ, रत्ना श्रेष्ठ, पार्वती श्रेष्ठ (इलामकी हुन् मावली आउँदा नाचेको उनी ज्यादै राम्रो डान्सर थिइन्), उर्मिला श्रेष्ठ र सीता श्रेष्ठ (हान्द्रुङ) लगायत सिनियर छात्राहरूले अभिनय गरेका थिए । गोरख सरको डेड वर्षदेखिको समाज रुपान्तरणको सत्प्रयासले साकार रूप लिएको थियो । केटीहरू सांस्कृतिक कार्यक्रममा निस्कनु कठिन हुन्थ्यो । निस्किहाले पनि युगल नृत्यमा छात्राहरू मात्रै नचाउने गरिन्थ्यो । गोरखप्यारा सरले हरेक छात्राहरूको घरमा गएर कन्भिन्स गरी भानु स्कुलको दोस्रो वार्षिक उत्सवमा विद्यार्थीहरूलाई युगल नृत्यमा उतार्न सफल हुनुभयो । यो ऐतिहासिक सफलता गोरख सरको सपना थियो ।

छात्राहरूको अभिभावकहरूमा हौसला र भरोसा जगाउन गोरख सर स्कुल जाँदा आउँदा उनीहरूको घरमा निस्कन्थे, भेटघाट गर्थे । सबैलाई उचित सम्मान व्यक्त गर्दै मुस्कानसहित अभिवादन गर्दै हिंड्थे । हिंड्दा उनको हातमा सधैं जसो सानो छडी हुन्थ्यो । त्यो समयमा शिक्षक भनेको विद्यार्थीका लागि हाउगुजी बन्नु सामान्य जस्तै थियो । तर उनी हरेक उमेर समूह, हरेक व्यवसाय र वर्गको मानिससँग मेलमिलाप र सुसम्बन्ध राख्न सिपालु थिए । शनिवार र विदाको दिन उनी छरछिमेकी र गाउँ घुमेर अभिभावहरूसँग भेटघाट गर्ने र समस्यामाथि छलफल गर्ने गर्थे ।

गोरखप्यारा श्रेष्ठले भानु स्कुललाई शिक्षक र विद्यार्थीले साढे पाँच दिन जसो तसो गरी बिताउने स्थानको सोचलाई आमूल परिवर्तन गरिदिए । उनले भानु स्कुललाई जिल्लाभित्र र जिल्लाबाहिरका विद्यार्थीहरूका लागि आकर्षणको थलोको रूपमा विकसित गरे । उनले अभिभावकहरूको मात्रै मन जितेनन्, हामी जस्ता कर्मचारीहरू जो अफिस समयबाहेक तास र अन्य क्षेत्रमा भुलिनेहरूलाई मनोरञ्जन र ज्ञानको क्षेत्रमा आकर्षित गर्दै लगे । हरेक शुक्रवार एक बजेपछि साहित्यिक, सांस्कृतिक तथा वादविवाद कार्यक्रम अनिवार्य थियो । कहिले बालबालिकाका सुन्दर रचनाहरू कविता, गीत, कथा, निबन्ध अनि कहिले गायन, नृत्य र नाटक सुन्न र हेर्न पाइन्थ्यो । कुनैबेला हाजिरीजवाफ प्रतियोगिता तथा चित्रकलाको अभ्यास हुन्थ्यो । हरेक महिनाको एउटा शुक्रबार चाहिँ विशेष कार्यक्रमको आयोजना गर्ने गर्दथे । यसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ठूलो योगदान दिन्थ्यो भने अभिभावक र समाजलाई मनोरन्ज दिन्थ्यो । त्यति बेला मनोरञ्जनको कुनै साधन नभएको ठाउँँमा यस्ता रचनात्मक कार्यले हामीलाई तास खेल्ने, क्यारेमबोर्ड खेल्ने जस्ता लतबाट अगल गर्न सहयोग मिलेको थियो । भानु स्कुलको लोकप्रियता यति बढ्यो कि ताप्लेजुङ मात्रै होइन, दार्जिलिङ, खरसाङ, धरान, आठराई सबैतिर भानु स्कुलको महिमा बढेको थियो, प्रतिष्ठा बढेको थियो ।

(पुर्व सहसचिव तथा साहित्यकार चन्द्र श्री कार्की २०१९  सालदेखि २०२३ सालसम्म ताप्लेजुङ बस्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*