प्रेस चौतारी ताप्लेजुङले स्थापना दिवसमा दियो चार पत्रकारलाई पुरस्कार

वेलकम खबर
माघ २२, २०७९

गंगा लिङ्खिम
ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले २५औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी पत्रकारिता क्षेत्रमा क्रियाशील रहि काम गरिरहेका चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

आज ताप्लेजुङको होटल पाथिभरामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रेस युनियनका अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका संवाददाता सन्तोष पुकुर्टीलाई प्रदान गरेको छ । यो पुरस्कार जिल्ला शाखाले पहिलो पटक स्थापना गरी पुरस्कृत गरेको हो ।

अग्निप्रसाद–भीमादेवी पत्रकारिता पुरस्कार पूर्ण कार्कीलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमा कार्यरत कार्कीले बिजनेस जर्नलका अलवा ताप्लेजुङबाट प्रकाशित हुने पहिलो समाचारमुलक पत्रिका ताप्लेजुङ साप्ताहिकका लागि राजधानी संवाददाताको रुपमा रहेर योगदान गरेका थिए । पर्यटन व्यवसायी ईश्वरी पौडेलले आफ्ना बुवा अग्निप्रसाद र आमा भीमादेवीको सम्मानमा प्रेस चौतारी ताप्लेजुङसंगको सहकार्यमा अग्निप्रसाद–भीमादेवी पत्रकारिता पुरस्कार स्थापना गरेको प्रेस चौतारीका अध्यक्ष बसन्त पालुङवाले जानकारी दिए ।

जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार २०७८ पत्रकार साहारा लङ्वालाई प्रदान गरिएको छ । कोरोना संक्रमण लगायतका कारणबाट २०७८ सालमा बितरण गर्न नसकिएको यो पुरस्कार यस वर्ष प्रदान गरिएको प्रेस चौतारीले जनाएको छ । यस्तै २०७९ सालको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार रेडियो ताप्लेजुङमा कार्यरत पत्रकार किरण गदाईली बिकलाई प्रदान गरिएको छ ।

बैदेशिक रोजगार व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका बलबहादुर तामाङले आफ्ना माता जयमति र पिता कर्णहादुरको सम्मानमा प्रेस चौतारी ताप्लेजुङसंग सहकार्य गरेर यो पुरस्कार स्थापना गरेका हुन् । उक्त प्रत्येक पुरस्कारको राशि १० हजार १०५ रुपैयाँ रहेको छ ।

जयमति र कर्णहादुर कार्यक्रममा स्वयं उपस्थित भएका थिए भने अग्निप्रसाद र भीमादेवी उपस्थित हुन सकेका थिएनन् । यस्तै प्रेस चौतारी नेपालमा लामो योगदान दिएर अहिले जनप्रतिनिधिमा निर्वाचित दुईजनालाई कदरपत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा शान्ताकुमारी आङ्बुहाङ र लिलाचक्र गुरुङ रहेका छन् । प्रेस चौतारीका तत्कालीन केन्द्रीय सदस्य आङ्बुहाङ गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । प्रेस चौतारी ताप्लेजुङका अभिभावक गुरुङ फुङलिङ नगरपालिका वडा नं। २ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्यक्रममा अक्षयकोष दाता पौडेल र तामाङ परिवारलाई अभिनन्दन समेत गरेको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराई, प्रदेश १ सरकारका खानेपानी सिचाँई तथा उर्जामन्त्री तथा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो उपस्थित भएका थिए ।

यस्तै प्रदेश १ सरकारका पूर्व योजना आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङ, पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, पूर्व प्रदेशसभा सदस्य होमकुमारी साँवा, आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन), प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, भीमकाली गुल्मका गुल्मपति आवाज श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख कैलाश राई, सशस्त्र प्रहरी बल नं. १ गुल्मका गुल्मपति बिनोद थापा, राष्ट्रि अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, एमाले ताप्लेजुङका उपाध्यक्ष सन्तोष खतिवडा, एमाले जबस मोर्चा ताप्लेजुङका संयोजक मणिशंकर पोमू लगायत बिभिन्न सञ्चार क्षेत्रका अगुवा तथा पत्रकारका पेशागत संघरसंगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*