सम्झेर ल्याउँदा आँशु आउँछ–कटुवाल

तुलाराम कटुवाल (२००९) ताप्लेजुङको थेचम्बुमा जन्मे। १० वर्षको हुँदा थेचम्बु ओखे्रमा मुक्तिनाथ कोइरालाको धुले स्कुलमा क ख पढ्न सुरु गरे अनि पछि थेचम्बु स्कुलमा भर्ना भए। डिल्लीरमण घिमिरे २०२७ सालमा थेचम्बुमा मास्टर भएर आएपछि घिमिरेकै प्रभावबाट कटुवाल कम्युनिष्ट राजनीतिमा लागे। त्यतिबेला उनी ८ कक्षामा पढ्थे।
हरि नेपाल २९ सालमा थेचुम्बको हेडमास्टर भएर २ वर्ष जति काम गर्नुभयो। हरि नेपालको उहाँमा अझ गहिरो प्रभाव प¥यो। २०३३ सालमा ताप्लेजुङमा कोअर्डिनेशन केन्द्र गठनपछि हरि नेपाल भुमिगत भएर थेचम्बु आउनु भयो। क. हरि कै नेतृत्वमा थेचम्बुमा गाउँ कमिटी बन्यो। त्यो नै थेचम्बुको पहिलो पार्टी कमिटी थियो।
त्यो कमिटीमा पृथ्वी याक्थुम्बा, मेदनी कोइराला, प्रदीप मेन्याङ्बो, तुलाराम कटुवाल, धिरेन्द्र लिम्बू (अशोक लिम्बू पनि ?) रहनु भयो। २०३३ साल फागुन २१ गते थेचम्बुको खाल्टे (थाक्पारु) मा सहिद दिवशको आयोजना गरियो। त्यही थाक्पारुको सानो झुप्रोमा तुलाराम कटुवालले केटाकेटीहरु भेला गरेर (धुले स्कुल) पढाउनु हुन्थ्यो। तुलारामले सहिद दिवशका सहभागी कमरेडहरुहरुलाई बढीआमा (टंक कुटुवाल) को घरमा खाना खुवाए। बेलुकीको खाना खाएपछि राती कार्यक्रम भयो।
१६/१७ जना सामेल कार्यक्रमको मुख्य भूमिकामा हरि नेपाल नै हुनुहुन्थ्यो। त्यतिबेला,
बसाइँ हिड्नेको ताँतीले बस्नेको मन रुदो छ।
लाखौंको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ।
र अर्को,
साहुको रिन तिर्न भनी गाको मेरो छोरा फिर्दै फिरेन।
भन्ने दईवटा गीत डिल्लीजंग मादेन र भरतकुमार श्रेष्ठले गाएका थिए।
२०३५ साल पुसमा नेकपा मालेको गठन भएपछि पार्टी स्थापनाको उपलक्ष्यमा राष्ट्रव्यापी पम्प्लेटिङ गर्ने कार्यक्रम थियो। त्यसको लागि फागुन १९ गते नै हरि नेपालले पर्चा लिएर आउनु भएको थियो। पार्टीले तोक्मेडाँडा सेनाको क्याम्प अगाडि पर्चा छर्ने आदेश दियो। तुलाराम कटुवाल र धिरेन्द्र लिम्बुको जिम्मा तोक्माडाँडामा प¥यो। उनीहरुले सेनाको क्याम्प अगाडि र अन्य विभिन्न ठाउँमा पर्चा छर्ने, टाँस्ने काम कुशलतापूर्वक गरे।
सेनाको क्याम्प अगाडि र गाउँका पार्टीका विरोधीहरुको घरमा पनि पर्चा टाँसेकोले गर्दा ठूलो हल्लीखल्ली भयो। मेदनी कोइराला, तुलाराम कटुवाल र धिरेन्द्र लिम्बू पक्राउ परे। इलाममा एक वर्ष जेल बसेर छुटे। त्यो काण्डमा उम्किन सफल प्रदीप मेन्याङ्बो जिल्ला छाडेर बाहिर जानुभयो। तुलाराम कटुवालको घर पार्टीको सेल्टर थियो। सहिदहरु रत्न वान्तवा, हरि नेपाल र चन्द्र पुरीका साथै वासु शाक्य, कुलप्रसाद उप्रेतिहरु उनकोमा आइरहन्थे।
तुलाराम कटुवाल पार्टीको काम सँगसँगै २०३८ सालबाट स्कुलमा पियनको काम गर्न थाले। अहिले त्यही पद विद्यालय सहायक। ३९ वर्षदेखि एउटै पदमा त्यो पनि अस्थाई। बिना पेन्सन रित्तो हात स्कुलबाट बिदा हुनुपर्ने अवस्थामा छन्। किन यत्रो वर्षसम्म अस्थाई! भन्दा कटुवाल भन्छन् ‘स्थाई गर्नेतिर कसैले चासो दिएन।
सानोतिर कसको ध्यान जान्छ र ?’ उनी पुरानो दिन सम्झँदै भन्छन् ‘हाम्रो सरकार आएपछि सबैको समान अधिकार, सबै एकछत्त हुन्छ। काम एउटै हुन्छ। दाम एउटै हुन्छ। सबै बराबरी हुन्छ भनेर लागेको। ति त कुरा मात्रै रहेछ।’ देशमा केही पनि परिवर्तन भएन ? भन्ने प्रश्नमा कटुवाल भन्छन् ‘त्यसो त होइन। धेरै परिवर्तन भएको छ।
आज आफ्नो कुरा निर्धक्कसाथ भन्न पाइन्छ। पन्चायतमा त्यस्तो कहाँ थियो र ? तर हामी जस्ताहरुको लागि जिन्दगी निर्वाह गर्नु नै मुख्य कुरा रहेछ। त्यसमा कुनै भिन्नता आएको छैन।’ रत्नकुमार वान्तवा, वासु शाक्य, हरि नेपाल, चन्द्र पुरीहरुप्रति धेरै श्रद्धाभाव राख्ने तुलाराम कटुवाल वर्तमान अवस्था देखेर भक्कानिदै भन्छन्। ‘सम्झेर ल्याउँदा आँशु आउँछ। मरेको दिन एउटा झण्डा पाउनका लागि मात्रै पार्टीमा लागिएछ जस्तो लाग्दैछ।’