काठमाडौँ – एशियामा तीव्र गतिमा कोरोना १९ का नयाँ संक्रमणहरु फैलिरहेका छन् । अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४ हजार २ सय नयाँ संक्रमित भेटिएका छन् ।
सिंगापुरमा अघिल्लो हप्तामा ११ हजार १ सय संक्रमित भेटिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल एलएफ.७ र एनबी १.८ (जेएन.१ का सब–भेरियन्टहरू) त्यहाँ फैलिरहेका प्रमुख भेरियन्ट हुन् ।
अहिलेसम्म गरिएका जीनोम सिक्वेन्सिङमध्ये दुई तिहाइ केस यी भेरियन्टहरूका छन् । जेएन. १ त्यही भेरियन्ट पनि हो जसको प्रयोग हालको कोभिड–१९ खोपको निर्माणमा गरिएको थियो ।विशेषज्ञहरूका अनुसार यसको तीव्र फैलावट चिन्ताजनक छ । त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्लो सयम केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ । भारतमा पनि केही मानिसमा कोरानाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य विशेषज्ञहरू कोरोना संक्रमणको तीव्र वृद्धिको कारण ओमिक्रोन भेरियन्टको सब–भेरियन्ट जेएन १ लाई जिम्मेवार मानिरहेका छन् ।