नेपालीको अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्का विरुद्ध मुद्दा दर्ता

काठमाडौँ। बलिउड अभिनेत्री अनुष्का शर्मा विरुद्ध अरुणाचल प्रदेशको अल अरुणाचल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको छ। अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएकाले उनीविरुद्ध अरुणाचल प्रदेशको गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको हो।
अभिनेत्री अनुष्का शर्मा निर्मात्री रहेको ‘पाताल लोक’ नामको वेभ सिरिजमा एक महिलालाई गाली गर्नका लागि निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको छ। ‘पाताल लोक’मा नेपाली महिलामाथि प्रयोग गरिएको अत्यन्त आपत्तिजनक दृश्य र संवादका कारण अहिले अनुष्का शर्मा विवादमा तानिएकी छिन्। उक्त वेभ सिरिजले नेपाली भाषीहरूका अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको आलोचना भइरहेको छ।
उनको विरोधमा भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आक्रोशित बनेका छन्। सो क्रममा शर्मा विरुद्ध विभिन्न स्थानमा मानहानी सम्बन्धी मुद्दा दर्ता गरिएको छ। वेभ सिरिजको दृश्य र संवादले चोट पुगेपछि भारतस्थित गोर्खा समाजले यसको विरोधमा मानव अधिकार आयोगसमक्ष मुद्दा दर्ता गरिसकेको छ। तर अहिले सम्म पनि अमेजन प्राइम र अनुष्का शर्माबाट कुनै स्पष्टीकरण आएको छैन।