भानु स्मारिका बारे

टंक श्रेष्ठ
माघ २४, २०८१

टंक श्रेष्ठ सम्पादक

शिक्षालाई शभ्यता र विकासको मूल आधार मानिन्छ । विश्वमा भइरहेको प्रगति, परिवर्तन र चमत्कार शिक्षाकै बलले सम्भव भएको हो । जीवन र जगतलाई आलोकित पार्ने शिक्षा नेपालको उत्तरपूर्वी कुनामा रहेको ताप्लेजुङमा अलि ढिलै पुग्यो । अझ अङ्ग्रेजीसहितको आधुनिक शिक्षाको उज्यालो त ताप्लेजुङले २००२÷३ सालतिर मात्रै देख्न पायो । ताप्लेजुङमा आधुनिक शिक्षाको सुरुवात ताप्लेजुङ बजार, चाँगे र मैवा–दोभानबाट सुरु भएको पाइन्छ । त्यही क्रममा २००६ सालमा ताप्लेजुङ बजारमा भानु स्कुलको स्थापना भयो । यही स्कुललाई ताप्लेजुङको पहिलो अङ्ग्रेजी स्कुल मानिन्छ । सुरुमा प्राइमरीस्तरको स्कुललाई २००८ सालमा स्तरोन्नति गरी मिडिल स्कुलको पढाइ सुरु गरियो र २००९ सालमा ‘गणेश मिडिल स्कुल’को रुपमा यसले स्वीकृति पायो । २०१६ सालमा भानु पब्लिक जुनियर हाइस्कुल र २०१८ सालमा हाइस्कुल भयो । २०१९ साल साउ ४ गते ‘भानु पब्लिक हाइस्कुल’ले स्वीकृति पायो । नयाँ शिक्षा लागेपछि भानु जन व्यावसायिक माध्यमिक विद्यालयहुँदै हाल भानु जन माध्यमिक विद्यालय भएको भानुले यस वर्ष ७५ वर्ष पूरा गर्दैछ । अर्थात् यस वर्ष विद्यालयको हीरक जयन्ती हो ।

भानु स्कुलले २०२१, २०३८ र २०५५ सालमा स्मारिका (पत्रिका) प्रकाशन गरेको पाइन्छ । २०३८ सालमा ‘भानु अंक ३’ भनेर प्रकाशित गर्दै अंक २ रकमको अभावमा प्रेसबाट नल्याइएको कुरा उल्लेख छ । जन्मदै मृत्युवरण गरेको त्यो ‘दोस्रो भानु’को जन्म २०२३ साल भन्ने अपुस्ट भनाइ छ । प्रकाशित तीनओटा ‘भानु’ विद्यालय आफैले प्रकाशन गरेको थियो भने यो तपाईंको हातमा भएको भानु (हीरक जयन्ती स्मारिका) भानु एल्मुनाइको प्रकाशन हो ।
यस स्मारिका प्रकाशनको लागि भानु एम्मुनाइले प्रकाशन समिति, सम्पादक मण्डल र सम्पादक तोकिसकेपछि सामाजिक सन्जालमार्फत संस्मरण लेखको लागि अनुरोध ग¥यौँ । हाम्रो सामाजिक सन्जालले मात्रै अपुग होला भनेर भानु जन माविसँग पनि सार्वजनिक अपिलका लागि अनुरोध ग¥यौँै । भानु माविले पनि पटक पटक सार्वजनिक आह्वान ग¥यो ।
हामी यो स्मारिका गएको सरस्वतीपूजा अर्थात् २०८० साल फागुन २ गते भानु जन माविमै विमोचन गर्ने तयारीमा थियौँ । जे जति लेख प्राप्त भयो त्यसैमा चित्त बुझाएर प्रकाशनमा जान हामी तयार भयौँ । तर, भानु माविको तर्फबाट विद्यालयको सम्पूर्ण विवरणसहितको लेख नआएपछि स्थगित भयो ।
एउटा आहान छ, ‘जे हुन्छ, राम्रैको लागि हुन्छ ।’ सबैमा यो कुरा लागु नहुन सक्छ । तर, यो प्रकाशनको ढिलाले करिब ३५ वटा लेख थपियो र स्मारिकालाई अलि बढी राम्रो बनाउन सहयोग नै पु¥यायो ।
भानु स्कुलबाट प्रकाशित ‘भानु’हरु सामयिक संकलनको रुपमा देखिन्छ । यस भानु स्मारिकालाई भने हामीले भानुमय बनाउन खोज्यौँ । कविता, कथालगायतका साहित्यिक रचना प्रकाशनको लागि अन्य धेरै ठाउँ छन् भन्ने ठानेर हामीले संस्मरणात्मक लेख मात्रै भन्यौँ । किनकि हामीलाई ‘भानु स्कुल’ चाहिएको थियो; भानुको इतिहास चाहिएको थियो; भानुसँग जोडिएको परिवेश चाहिएको थियो र तत्कालीन गाउँसमाज चाहिएको थियो । यो स्मारिका त्यस अर्थमा धेरै हदसम्म सफल भएको छ ।
यस स्मारिकामा भानु स्कुल स्थापनाकालदेखि हालसम्मका विद्यार्थीलाई समेट्न खोजे पनि पछिल्लो पुस्ताको लेख अपेक्षाकृत कम आयो । जे जस्तो आयो त्यसैमा चित्त बुझाएर अघि बढ्नुको विकल्प थिएन । भानु स्कुलसँग जोडिएको संस्मरणात्मक लेख भएकोले कतिपय कुराहरु दोहोरिनु स्वभाविक हुन्छ । तर, हरेक लेखमा फरक स्वाद र नयाँ कुरा पनि पाइन्छ ।
यस स्मारिकामा इतिहाससँग जोडिएका कुराहरुमा कसी लगाउन सक्दो प्रयास गरिए पनि कतिपय कुराहरु फरक देखिन सक्छन् । ती फरक परेका र अनुत्तरित कुरालाई तथ्यसहित प्रकाशमा ल्याउने जिम्मेवारी इतिहासकारलाई छाड्नुको विकल्प देखिदैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*