पाथीभरा विवाद के हो ?

टंक श्रेष्ठ
अशोज ८, २०८०

पछिल्लो समय पाथीभरा निकै विवादमा परेको छ/पारिएको छ ! विवाद बढ्दै जाँदा कतिपयले पाथीभराको नाम पनि सुन्न नचाहेको जस्तो देखिन्छ । विरोध गर्नेहरुको कुरा रैथाने नाम अतिक्रमण गरी पाथीभरा राखियो भन्ने रहेको देखिन्छ । पाथीभराको रैथाने नाम कसैले मुक्कुमलुङ, कसैले सेमुक्तु मुक्तिगोक् र कसैले सेमुक्तिबुङ पनि भन्ने गरेको पाइन्छ । यहाँ विवादित पाथीभराको दुईवटा रुप वा अस्तित्व देखिन्छ । एउटा पाथीभराडाँडा र अर्को पाथीभरादेवी । नाममा अतिक्रमण भयो भन्दै आवाज उठाउने मित्रहरुको विरोध पाथीभराडाँडा (स्थान) को नामप्रति लक्षित हो वा पाथीभरादेवीको नामप्रति लक्षित हो ? यसमा उहाँहरु त्यति स्पष्ट भएको देखिदैन । पाथीभरादेवीको नामप्रति लक्षित हो भने यो नामको इतिहास ८५/९० वर्षभन्दा पुरानो देखिदैन । पाथीभरादेवीको नामले पुकारिनुभन्दा अगाडि पञ्चकालिकादेवी (पञ्चकन्या रक्तकाली !) भनेर पुज्ने गरेको पाइन्छ ।
देवी उत्पत्ति !
नेपालमा देवी उत्पत्ति वा स्थापनाका आ–आफ्नै कथाहरु छन् । अहिले पाथीभरादेवीको नामले चिनिने पञ्चकाली देवीको उत्पत्तिको कथा तत्कालीन गडीडाँडा, सोगिरा निवासी अबिदल गुरुङको भेडागोठ हराउँदा सोही भेडागोठका सहयोगी जानपा (गान्पा पनि भनिन्छ) गुरुङको सपना र सपनापछि उनको आङ (शरीर)मा देवी चढेको कुरासँग जोडिएको पाइन्छ । (“रातो कपाले” धामी भनेर पनि चिनिने जानपा गुरुङलाई सानैमा वनझाँक्रीले लगेर सातदिन पछि छाडेको र उनी त्यसपछि जान्ने धामी भएकोले उनको नाम जानपा रहन गएको भनिन्छ) यो कथा लगभग २०० वर्ष अगाडिको र भेडागोठका मालिक अबिदल गुरुङ भने डिल्ली गुरुङको छैठौं पुस्ता अगाडिका जिजु हुन्) । देवी उत्पत्तिको कथा लामो छ, अहिले त्यतितिर नजाऔं । सुरुमा देवीको स्थापना अहिले पाथीभरादेवी भएको स्थानमा थिएन । अहिले पाथीभरादेवी भएको दाहिनेतिर केही तल अक्करमा पाँचवटा ढुंगाको शिला राखेर देवीको पुजाआजा गरिन्थ्यो । लामो समयसम्म पूजा गर्नेहरु स्थानीय गोठालाहरु नै हुन्थे । र, त्यो पूजा पनि बाक्लो हुँदैन थियो । उधौली र उभौलीमा वर्षको दुईचोटी भेडा/पाठाको बली दिएर पूजा गर्ने गरिन्थ्यो । त्यस्तो पुजामा सामेल हुनेहरुमा गुरुङ, भट्टराई, विष्ट, कटुवाल (गोठालाहरु) र केही पछि लिम्बूहरु पनि सामेल भएको पाइन्छ ।
फुरुम्बुका पुर्व उपप्रधानपन्च समेत रहेका हरिप्रसाद भट्टराई (१९७८–२०७८) को भनाइमा आफु ५/६ वर्षको हुँदा तल्लोफेदीभन्दा बायाँ केही पर सातमुले भन्ने ठाउँ (जहाँ पानीको सात मूल थियो) मा चन्द्रवीर भट्टराईको गोठ भएको ठाउँमा साधुको कुटी (गोठ) का साथै कुण्ड रहेको र सो ठाउँमा होम लगाउँथे । आफुले ६ वर्षको उमेरमा साधुबाट क, ख पढ्न सिकेको पनि बताएबाट पाथीभरा क्षेत्रमा साधु सन्तहरु पनि धेरै अगाडिदेखि आउन थालेको अनुमान गर्न सकिन्छ । त्यस क्षेत्रमा गोठमा बस्ने वृद्धहरुका अनुसार साधुहरुले त्रिशुल र घन्टीहरु देवीलाई चढाउने गर्थे । तर, लामो समयसम्म खासगरी देवीलाई माथि पाथीभराडाँडामा नसारेसम्म सर्वसाधारण मानिसहरु पञ्चकालीको बारेमा त्यति धेरै जानकार नभएको अनुमान गरिन्छ ।
देवी कहिले माथि पाथीभराडाँडामा सर्यो ?
ताप्लेजुङमा १९८४ सालमा हाङदेवा, सिनाम, पाथीभरा लगायत धेरै क्षेत्रमा ठूलो पहिरो गयो । पाथीभरामा गएको पहिरोले पञ्चकालीदेवीलाई पनि क्षति पुर्यायो । पहिरोले बगाएको ढुंगाको शिला (मुर्ति) लाई पुरानो ठाउँमा ल्याएर पुनः पूजा सुरु गर्ने क्रममा त्यहाँका गोठाला तथा अगुवाहरु (कान्छा मिश्र, काइँलो कटुवाल, कलु विष्ट, भटराईहरुलगायत) ले देवीलाई मास्तिर पाथीभराडाँडैमा सार्ने सल्लाह गरे । र, पूजा/होमको साथमा वेदपाठ, चण्डीपाठ गरी पाथीभरा डाँडामा देवीको स्थापना गर्ने काम भयो । डाँडामा ठूलो होम गरी पञ्चकाली देवीको स्थापना गरेपछि देवीको प्रचार धेरैतिर फैलियो । प्रचार बढ्दै जाँदा करिब १९९० सालतिर माधव समशेर जबरा एउटा ठूलो घन्ट भरियालाई बोकाएर दलबल सहित पञ्चकालीको दर्शन गर्न पाथीभराडाँडा पुगे । उनले त्यहाँ पूजापाठ गराए । भक्तजनको लागि कुनै सुविधा नदेखेपछि माधव शमशेरले एउटा पाटी बनाउनु भनेर ६०० भारु दिए । पाटी बनाउन पैसा नपुगेपछि हर्कजंग मादेनले थप रकम लगाइ पाटी निर्माणको काम सम्पन्न गरे । अर्को सानो पाटी चन्द्रवीर भटराईको काइँला भाइ शिवनारायण भटराईले बनाए । शिवनारायणले बनाएको सामान्य खाले पाटी थोत्रो भएपछि विष्णु मादेन जिल्ला पञ्चायत सभापति भएको बेला २०२५ सालतिर जिल्ला पञ्चायतको अनुदानमा पाटी बनाउने काम भयो । भनिन्छ, माधव शमशेर पुगेको बेलासम्म देवीको नाम पञ्चकाली नै थियो । यस बारेमा जानकारहरुको भनाईमा कसैले पनि पञ्चकालीकाको नाम “पाथीभरा” राखौं भनेर पाथीभरा भएको होइन । भक्तजनहरुले पाथीभराडाँडामा देवी रहेकोले पाथीभरादेवी भन्न थाले । बिस्तारै देवीको नाम नै पाथीभरादेवी रहन गयो । यो १९९० सालभन्दा पछिको कुरा देखिन्छ ।
अब कुरा रह्यो, पाथीभरा डाँडाको । त्यो डाँडाको नाम पाथीभराभन्दा अर्को कुनै थियो भने सुब्बा/सुभांगीहरुको लिखत (किपट) मा पनि उल्लेख भएको हुनसक्छ । प्रमाणको अरु पनि आधार हुन सक्छन् तर लिखत एउटा प्रमृुख आधार हो । त्यो खोज्दा भेटिन्छ । अहिलेसम्म भेटिएकोमा १९५० सालको महाजाँचमा दाताराम वरालको पिता नन्दराम वरालको नाममा दर्ता हुँदा पाथीभरा पानीढलो भन्ने उल्लेख भएको पाइन्छ । १९५० सालको लिखतमा उल्लेख भएबाट त्यस अगाडि नै त्यो नाम थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । लिम्बुवान ठाउँमा सुब्बा लिम्बूहरुबाट जग्गा लिदा एउटा बाहुनले ठाउँको नाम परिवर्तनको आँट/हिम्मत गर्न सक्ला र ? सुब्बाहरुको जगजगी भएको बेला एउटा बाहुनले भनेकै भरमा लिखतमा सुब्बाले सजिलै नाम परिवर्तन गरिदियो होला र ? कुरा पत्याउन कठिन छ । त्यसैले त्यस अगाडि नाम केही थियो भने, यस सन्दर्भमा थप खोजको आवश्यकता देखिन्छ ।
नाममाथि अतिक्रमण हुनसक्छ ?
हुन त सक्छ ! राज्यको एकात्मक अहंकार र सोचको दलनमा धेरै जाति तथा धर्महरु पिसिएको देखिन्छ । तामाङ, गुरुङ र तल्लो भेगमा बसोबास गर्ने शेर्पाहरु राज्यको दलनकै कारण लामो समयसम्म आफ्नो धर्मबाट टाढा रहनु परेको देखिन्छ । उनीहरुले आफूहरु बौद्धमार्गी भएको कुरा बहुदल आएपछि मात्रै थाहा पाए । लिम्बूहरु प्रकृतिपूजक हुन् तर ताप्लेजुङमा देवीको जे जति पुराना मन्दिरहरु छन् ती सबै लिम्बू/सुब्बाहरुले बनाए वा बनाउन लगाइयो । बुद्ध पुर्णिमाको दिन देवीलाई भोग दिन लगाइयो । राज्यले धर्म, भाषा र लिपिमाथि बलपूर्वक अतिक्रमण गरिएको धेरै उदाहरणहरु पाइन्छ । नामको सन्दर्भमा पनि कतिपय रैथाने नामहरु परिवर्तन भएका/गरिएका छन् । तर, पाथीभराको सन्दर्भमा त्यो स्थितिको छनक देखिदैन । इतिहासमा गल्ती भएका हुन सक्छन् । कतै गल्ती वा अन्याय भएको छ भने खोजौं र तथ्य प्रमाणको आधारमा रैथाने नामलाई स्थापित गरौं ।
तर, पाथीभरा ताप्लेजुङको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । पाथीभरादेवीले राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा पहिचान मात्रै बनाएन, पाथीभरादेवी करोडौं मानिसहरुको आस्थाकी देवी, आराध्यदेवी बनेकी छिन् । पाथीभरामा वर्षेनी लाखौं तिर्थयात्रीहरु आउँछन्, त्यसको प्रत्यक्ष/अप्रत्यक्ष फाइदा स्थानीयले पाउने हो, जिल्लावासीहरुले नै पाउने हो । निरन्तरको विवाद, विरोध र गिजोल्याइले क्षति जिल्लावासीलाई/रैथानेहरुलाई नै पुग्ने हो । त्यसैले जतिसक्दो चाँडो यसको तर्कसंगत र तथ्यसंगत हल निकाल्नै पर्छ ।
र, सोचौं– हामीले हाम्रो आस्थामाथि अतिक्रमण भयो भनिरहँदा हाम्रो क्रियाकलापले पनि कतै अरुको आस्थामाथि प्रहार त भइरहेको छैन !
मेरो प्रस्तुत भनाई मेरो मनको आवाज मात्रै हो । मलाई थाहा छ, मेरा यी भनाई धेरै मित्रहरुलाई चित्त नबुझ्न सक्छ र म आलोचनाको निशानामा पर्न पनि सक्छु । मेरो आशय कसैको आस्था र भावनामाथि ठेस पुर्याउने होइन, हुँदै होइन । म सबैको भावना र आस्थालाई सम्मान गर्छु ।अनि, एउटा प्रश्न फेरि गरें । तपाईंहरुको दावी/विरोध पाथीभरादेवीप्रति हो कि पाथीभरा डाँडाप्रति ?लेखक ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु