पर्यटन महोत्सव र ताप्लेजुङको पर्यटन

टंक श्रेष्ठ
बैशाख २१, २०८१

यही जेठ ३–८ गते ताप्लेजुङमा ‘ताप्लेजुङ पर्यटन महोत्सव– २०८१’ हुँदैछ । ताप्लेजुङको समृद्धिको एउटा प्रमुख आधार पर्यटन हुनसक्ने देखिन्छ । यसैलाई लक्षित गरेर यो महोत्सवको आयोजना हुँदैछ । ताप्लेजुङ पर्यटन महोत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा संयोजक र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन सहसंयोजक रहेको महोत्सव आयोजक मूल समिति गठन भएको छ । यस्ता महोत्सवहरुले पर्यटन विकास र आर्थिक गतिविधिमा टेवा पु¥याउने काम गर्दछ । ताप्लेजुङको पर्यटनको कुरा गर्दा–
–   ताप्लेजुङसँग ताप्लेजुङको ताज बनेर रहेको कञ्चनजंघा हिमाल, विश्वकै सुन्दर कहलिएको श्रृंगलीला हिमश्रृंखला र  ताप्लेजुङको शान बनेर उभिएको कुम्भकर्ण हिमाल छ । ८ हजार मिटरको मात्रै ४ वटा हिमाल भएको ताप्लेजुङमा ७ हजारमिटरभन्दा माथिका १४ वटा हिमालहरु छन् । ती हिमालहरुबाट बहने तमोर, कावेली, मेवा, मैवा, फावा, तावा, इन्द्रावती आदि नदिहरुले ताप्लेजुङको माटोलाई सिन्चित मात्रै गरेको छैन, हजारौं मेघावाट जलविद्युत उत्पादनको क्षमता पनि राख्दछ ।
–     नेपालका साथै, भारत, भुटान, वर्मा लगायतबाट ठूलो संख्यामा तिर्थालु पुग्ने पाथीभरादेवी छ– जो आन्तरिक र वाह्य पर्यटकको लागि विशाल सम्भावना बोकेर स्वागतमा बसेकी छिन् । मुकुलुङ्माको दर्शन गर्न जानेको संख्या पनि छ । पाथीभराले धार्मिक गन्तव्य मात्रै नभई एउटा आकर्षक पर्यटकीय गन्तव्य बन्ने हैसियत राख्दछ । त्यस्तै ४५० वर्षभन्दा पुरानो दिकिछ्योलिङ गुम्बा, लिम्बूजातिको पवित्र तिर्थस्थल फत्ताङ्लुङलगायत थुप्रै धार्मिकस्थलहरु ताप्लेजुङमा छ ।
–     फुङफुङे झरना, इला झरना, तिङबुङ पोखरी, सोदु पोखरी, सिजेमा ताल, इवापोखरी लगायत सैयौं तालतलैया र झरनाहरु पर्यटकको पर्खाइमा छन् ।
–     विश्वकै अद्वितीय भू–बनोट भएकाले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रलाई पृथ्वीको लागि उपहार घोषणा गरिएको छ । जैविक विविधताको भण्डार तथा दुर्लभ वन्यजन्तुको वासस्थानको कारण यस क्षेत्र विश्वकै नमुना क्षेत्रको रुपमा चिनिएको छ । ताप्लेजुङ रेडपाण्डा, हिमचितुवा, काँडे भ्याकुर, सालक, चरीबाघ, कस्तुरी मृग, पहरे बाँदरलगायत विश्वमै दुर्लभ मानिएको वन्यजन्तुको वासस्थान पनि हो ।
–     ताप्लेजुङमा ३०० प्रजातिका चराहरु पाइन्छ भन्ने छ । जसमध्ये विश्वमै दुर्लभ मानिएको वनचाह, रणमत्तमहाचिलका साथै मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छे, भोटेकागलगायतका दुर्लभ पन्छीहरु पनि यस जिल्लामा पाइन्छ ।
–     नेपालमा पाइने ४५ मध्ये २८ प्रजातिका लालिगुराँस र १७१ प्रजातिका सुनाखरी ताप्लेजुङमा नै पाइन्छ । हालसम्म ताप्लेजुङमा १ हजारभन्दा बढी प्रजातिका फूलहरु फुल्ने विरुवाहरु पाइएका छन् । जसमध्ये कञ्चनजंघा क्षेत्रमा मात्र ८१० प्रजातिका विरुवाहरु फेला परेका छन् ।
–     ताप्लेजुङमा चिराइतो, कुड्की, विष, विष्मा, जटामसी, वनलसुन, पाखनवेद, पाँचऔंले, सिलाजित, यार्सागुम्बा, अमला, लौठसल्ला, सुगन्धवाला, बोझो, रिठ्ठा, मजिटो, अर्घेली, लोक्ताजस्ता वन पैदावारहरु पाइन्छन् ।
–     नेपालको प्रमुख अलैची उत्पादक जिल्ला ताप्लेजुङ राडी, पाखी, गलैंचा, ढाका, नेपाली कागज, छुर्पी, खुकुरी लगायत घरेलु उत्पादनका लागि पनि परिचित छ ।
–     नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो । यस विविधतामा पनि ताप्लेजुङ देशको अन्य जिल्लाको अपेक्षा अरु विशिष्ट छ । ताप्लेजुङमा लिम्बू, शेर्पा, क्षेत्री, गुरुङ, राई, व्राह्मण, तामाङ, मगर, सुनुवार, कामी, दमाइ, नेवार, ढोक्प्या, वालुङ, भोटे, सार्कीलगायतका विभिन्न जाति, जनजाति तथा भाषाभाषीहरुको बसोबास रहेको छ । उनीहरुमध्ये धेरैको आ–आफ्नै भाषा, भेषभुषा र संस्कृतिहरु रहेका छन् ।
यी सबै हाम्रा सम्पदाहरु हुन्, जसको प्रचार प्रसार गर्न सक्यौं र पुर्वाधारको विकास गर्न सक्यौं भने ताप्लेमा पर्यटकहरु आउने होइन, ओइरिने छन् ।
म पर्यटन विज्ञ नभए पनि मलाई के लाग्छ भने–
१. पर्यटनको विकास गर्ने हो भने– ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको संरक्षण पहिलो सर्त हो, ती धरोहरहरुलाई बचाउनु पर्छ ।
२. नयाँ पर्यटकीय गन्तव्यहरु पहिल्यायौं ।
३.  पर्यटकीय क्षेत्रको विकासका साथै पुर्वाधारको विकासमा लागौं ।
४. प्रचार प्रसार । भनाइ नै छ कि ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ । हामी पर्यटन विकासका कुरा गर्छौंं, पर्यटकरु भित्र्याउने कुरा गर्छौं । तर, त्यो लक्षित क्षेत्र÷वर्ग को, कहाँ हो भन्ने कुरामा कति स्पष्ट छौं ? लक्षित क्षेत्रसम्म प्रचारमा पुग्न सकेका छौं ? सामान्यतया पर्यटक भन्नाले डलरवाला बुझिन्छ । हामीले ल्याउन खोजेको पर्यटक डलरवाला पनि हो कि ? डरलवालासम्म पुग्न हाम्रो प्रचार पहुँच छ ? छैन भने पहुँचवाला प्रचारसम्म जाने कि नजाने ?
५. हाम्रो पर्यटकीय प्रोडक्टहरु– पाथीभरा, फुङफृुङे झरना, तिम्बुङपोखरी, फक्तालुङ, दिकिछ्योलिङ, ओलाङचुङगोला, त्यस्तै ? ? ? के के हो ? अर्थात् कुुन कुन कुरा देखाएर हामी पर्यटक बोलाउन खोज्दैछौं । हाम्रोमा यो यो चिज छ, हेर्न डुल्न आउ भन्नलाई हामी चिज (प्रोडक्ट) को बारेमा आवश्यक सामाग्री तयार गरेका छौं ? ती कुराहरु लिएर लक्षितहरुको कान, आँखा र मनमुटुमा हाम्रो कुरा पुर्याउन सक्नुपर्छ ।
६. ताप्लेजुङमा सांस्कृतिक पर्यटनको पनि सम्भावना छ कि ? त्यसतर्फ हाम्रो रणनीतिहरु कस्तो छ, हुनुपर्छ ?
७. अहिले पाथीभरामा धार्मिक पर्यटनले गति लिएको छ तर त्यस अनुसारको खाने बस्ने ठाउँको अभाव देखिन्छ । साथै पाथीभरा क्षेत्रमा सुविधायुक्त वासस्थानको पनि अभाव देखिन्छ (कतिपयले सुविधायुक्त वास खोज्दोरहेछ) ।
८. पाथीभरा जाने पर्यटकहरु अहिले एकरात ताप्लेजुङमा बस्छन् । तर केवलकार बनेपछि ठूलो संख्यामा रात नबिताइ फर्कनेछन् । उनीहरुमध्ये कम्तिमा १० प्रतिशतलाई अर्को गन्तव्यमा लान सकियो भने ठूलो उपलब्धि हुन्छ । त्यसको लागि नजिकै एउटा आकर्षक गन्तव्यको विकास गर्न सकिदैन ?
९. ‘भिजिट ९८’ वर्षमा ताप्लेजुङमा कन्जनजंघा महोत्सवको नाममा २०५५ साल पहिलो महोत्सव भयो । त्यस यता विभिन्न नाममा ताप्लेजुङमा धेरै महोत्सवहरु आयोजना हुँदै आएको छ । प्रायः सबै महोत्सवमा हामीले नाचगानलाई प्राथमिकता दिदै ठूलै रकम त्यसमा खर्च गर्दै आयौं । नाचगान स्थानीयहरुको मनोरन्जनको लागि निकै प्रभावकारी पनि देखियो । मलाई गाली नगर्नुहोला– त्यसले पर्यटन प्रवद्र्धनमा कति सहयोग पुग्छ ?
हामी साच्चै पर्यटन प्रवद्र्धनमा लाग्ने हो भने, बिना आग्रह पुर्वाग्रह विगतलाई समीक्षा गरौं । पर्यटन के हो ? यसको विकास कसरी गर्न सकिन्छ ? स्थानीय सरकार, विज्ञ र सरोकारवालाहरु गहन र लामो छलफलमा बस्नुहोस् ।
र, अहिले आयोजना गरिएको ताप्लेजुङ पर्यटन महोत्सवलाई फलदायी बनाउन सबैले सहयोग गरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*