विद्यार्थी आन्दोलन र दामोदर जी

ताप्लेजुङमा कोअर्डिनेशन केन्द्र गठन लगत्तै वर्ग संघर्ष सहितको पार्टी सामाग्री प्रशासनको हात लागेपछि स्थिति असहज बन्यो । कि भूमिगत जानुपर्ने, कि जिल्ला छाड्नु पर्ने अवस्था बनेपछि टंक कार्की, यमनाथ वराल र म स्नातक पढ्न भनेर २०३३ साल साउनमा काठमाडौं आयौं । त्यस समयमा क्याम्पस भर्ना हुन प्रवेश परीक्षा दिनुपर्दथ्यो । प्रवेश परीक्षामा मेरो ९१ औं स्थानमा नाम निस्क्यो । घरबाट पढ्न भनेर हिडे पनि मुल उद्देश्य त पार्टी संगठन निर्माण र बिस्तार नै थियो । महेन्द्र कलेज धरान पढ्दा राजनीतिक सम्बन्ध बनेका मित्रहरु अशोक राई, युवराज कार्की त्यस अगाडि काठमाडौं आइसक्नु भएकोले हामीलाई पार्टी सम्पर्क सहज भयो । पार्टीमा काम गर्ने दौरान नयाँ साथीहरु भेटिन थाले । रघु पन्त र मैले २०३५ साल पुस ११ गते पार्टी स्थापना भएकै दिन ताहचलस्थित अशोक राईको कोठामा पार्टी सदस्यता लियौं ।
अमृत बोहरा यस क्षेत्रका पार्टी काम हेर्ने मुख्य मान्छे हुनुहुन्थ्यो । पार्टी स्थापनापछि अमृत बोहरा मार्फत एक दिन बसन्तपुरछेउको दमाईटोलमा दामोदरजीसँग भेट भयो । उहाँलाई मैले दामोदर भनेर पछि मात्रै चिनें । उतिबेला नाम, थर, ठेगाना र पढाइ सोध्ने कुरा हुँदैन थियो । पार्टीमा काम गर्न थालेपछि सुरक्षाको दृष्टिले छद्म नाम (निकनेम) राख्ने चलन थियो । पार्टीभित्र म ‘भीम’ र दामोदरजी ‘सिनटी’ भनेर चिनिनुहुन्थ्यो । पार्टीभित्र एक युनिट, एक स्वायर्डको कुरा थियो । धेरै कुरा गोप्य हुन्थ्यो । रियल नाम र ठेगाना पार्टीको माथिल्लो तहकोलाई मात्रै थाहा हुन्थ्यो ।
नेकपा माले भर्खर गठन भएको थियो । सशस्त्र संघर्षको लाइनमा अगाडि बढिरहेको पार्टीेले जनसंघर्षको लाइनलाई पनि भर्खरै खुला गरेको थियो । विद्यार्थी आन्दोलन सुरु भइसकेको थिएन । त्यही पृष्ठभूमिमा दामोदरजीसँग दमाईटोलामा भेट भएको थियो । त्यो भेटमा नेकपा मालेको राजनीतिलाई विद्यार्थीहरु माझ कसरी लाने भन्ने बारेमा छलफल भयो । केही पछि विद्यार्थी आन्दोलन सुरु भयो । पाकिस्तानका प्रधानमन्त्री भुट्टोलाई फाँसी दिएको विरोधमा २०३५ साल चैत २२ पाकिस्तानी दुतावासमा ज्ञापन पत्र दिन जाने क्रममा झडप भयो । त्यसले आन्दोलनलाई अगाडि बढाउन उर्जा दियो । २०३५ साल चैत २५ गते अमृत बोहरा र विष्णु राउतले केदार बराल, दामोदर उपाध्याय र मलाई बोलाएर पार्टी निर्णयबारे जानकारी दिदै भन्नुभएको थियो, ‘पार्टीले विद्यार्थी आन्दोलनको नेतृत्व गर्न केदार वराल, भरतकुमार श्रेष्ठ र दामादर उपाध्याय रहेको ३ सदस्यीय “विद्यार्थी आन्दोलन संयोजन समिति” बनाएको छ । विद्यार्थी आन्दोलनलाई हाक्ने सम्पूर्ण जिम्मा तपाईंहरूको काँधमा आएको छ । आन्दोलनको संयोजन र विद्यार्थी संगठन निर्माण लगायतका सबै काम गर्नुहोला ।’
विद्यार्थी आन्दोलन सृुरु भएपछि दामोदरजीसँगको भेटघाटहरु अस्कलको छात्रवासमा हुन्थ्यो । अस्कल काण्ड हुनुभन्दा एक हप्ता अगाडि पनि विद्यार्थी आन्दोलनबारे निकै गहन छलफल भयो । क–कसको शक्ति कस्तो छ र विद्यार्थीहरु माझ हामीले आफ्नो राजनीतिलाई कसरी स्थापित गराउने भन्ने नै पार्टीको मुल एजेन्डा थियो । तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन थिएन । जसले गर्दा विद्यार्थीहरुको बिचमा काम गर्न सहज थिएन र हाम्रो पक्षको नेतृत्वमा आन्दोलन अगाडि बढ्ने अवस्था पनि थिएन । त्यस समयको हाम्रो मुख्य रणनीति आन्दोलनमा सहभागिता बढाउदै नेतृत्व स्थापित गराउने भन्ने नै थियो ।
वैशाख १० गतेको अस्कल काण्डको दिन पनि विद्यार्थी आन्दोलनलाई कसरी अगाडि बढाउने, कसरी व्यवस्थित गर्ने भन्ने बारेमा केदार जी, दामोदरजीसँग बसेर कुराकानी भएको थियो । आन्दोलनको एउटा केन्द्र अस्कल थियो र अस्कलको मुख्य नेतृत्व दामोदर जीले नै गर्नुभएको थियो । २०३५/३६ सालको विद्यार्थी आन्दोलनमा अगाडि देखिएका नेताहरूमा नेविसंघका अध्यक्ष बलबहादुर केसी, नेराविफेका कैलाश कार्की र नेप्रवियुका शरणविक्रम मल्ल थिए । तर त्यो विद्यार्थी आन्दोलनलाई भित्री भागमा रहेर मालेका केदार वराल, टंक काकी, भरतकुमार श्रेष्ठ, भीम न्यौपाने, दामोदर उपाध्याय, ठाकुरचन्द्र श्रेष्ठ, कोमल भट्टराई, भीम रावल, केदार बस्नेत आदि र चौथो महाधिवेशन निकटका बालकृष्ण न्यौपाने, बलराम बास्कोटा, तारा न्यौपाने, लिलामणि पोखरेल, कमल चौलागाईलगायतले नेतृत्व गरिरहेका थिए । २०३५/३६ को आन्दोलनको एउटा किल्ला अस्कल थियो । अस्कलको मोर्चा दामोदर जीले समाल्नुभएको थियो । ०३६ वैशाख १० गते आन्दोलनलाई अगाडि बढाउन अस्कल क्याम्पसमा विद्यार्थीहरू ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीहरू माथि प्रहरीले जथाभावि लाठी चार्ज गर्न थाल्यो । पुलिससँग भिड्ने र आफ्नो साथीको सुरक्षाको काम सबै दामोदरजीले गर्नुभएको थियो । प्रहरी दमन अति भएपछि विद्यार्थीहरुले पेट्रोल वम पनि प्रहार गरे । त्यहाँबाट पुलिस भाग्यो । पछि प्रहरी यति धेरै ल्याइयो कि अस्कल क्षेत्र पुलिसले भरियो । अस्कल होस्टलभित्र पसेर पुलिसले वितण्डा मच्चाउन थाल्यो । अस्कल युद्धमैदान जस्तो भयो । होस्टलको दराज फोरेर सामानहरू नष्ट गर्ने, फाल्ने र विद्यार्थीहरूलाई नृशंस ढंगले कुटपिट गरी घाइते बनाइ झ्यालबाट फाल्न थाल्यो । हामी धेरै विद्यार्थीहरु त्यहाँबाट पक्राउमा प¥यौं । पक्राउ परेका विद्यार्थीहरुमध्ये सयौंलाई रत्नपार्कको अन्चलाधिश कार्यालयमा केही घन्टा राखेर सोधपुछ र केरकार पछाडि केहीलाई त्यहीबाट छाडियो र बाँकी विद्यार्थीलाई राती ११/१२ बजेतिर बग्गीखानामा राख्यो । त्यहाँबाट विभिन्न जेलमा लाने क्रममा मलाई भद्रगोल जेल चलान ग¥यो ।
जेठ १० गतेसम्म आइपुग्दा हाम्रो राजनीति र सम्पर्क विभिन्न क्याम्पसमा पुग्न थालिसकेको थियो । विद्यार्थीहरुको त्यत्रो ठूलो आन्दोलनलाई सामान्य मागहरु मात्रै सम्बोधन गरेर तुहाउने कोसिस भएपछि हामीले आन्दोलनलाई अझ शशक्त बनाउदै अगाडि बढाउन अस्कलमा भेलाको आयोजना गरेका थियौं । त्यस अस्कल भेलामा हाम्रो पक्षका विद्यार्थीहरुको मुख्य भूमिका थियो । अस्कलबाट त्यो दिन निस्केको जुलुशमा हामी समेतको नेतृत्व रहेको थियो । हामी सम्झौताहीन संघर्षको पक्षमा थियौं । आन्दोलनकै क्रममा आफ्नो भूमिका स्थापित गर्ने र आन्दोलनलाई नेतृत्व गरेर अगाडि बढाउने रणनीतिमा थियौं । हामीले आन्दोलनलाई व्यवस्थापन गर्न नसक्दा कालोमोसो दलियो, जुन हाम्रो योजना थिएन । आन्दोलनलाई गलत दिशा दिने तत्वहरुले कालोमोसो दले । सायद मण्डले घुसेर त्यो काण्ड गराएको हो कि भन्ने छ ।
विद्यार्थी आन्दोलन संयोजन समितिको तर्फबाट केदार वराल, दामोदर उपाध्याय र म बसेर आन्दोलनको बारेमा व्यापक समीक्षा ग¥यौं । आन्दोलनमा विभिन्न विद्यार्थी सइंगठनको भूमिका, उनीहरुको शक्ति, अवस्था आदिको बारेमा, हाम्रो पार्टीको विद्यार्थीहरुको भूमिका आदि समेटिएको प्रतिवेदन क. अमृत बोहरालाई बुझायौं । हाम्रो पार्टीको पनि विद्यार्थी संगठनको आवश्यकता रहेको औंल्याएका थियौं । र त्यही ०३५/३६ को विद्यार्थी आन्दोलनको जगमा पार्टीले टंक कार्कीको संयोजकत्वमा अनेरास्ववियू सम्मेलन आयोजक कमिटी बनायो । नेकपा माले हुँदै एमाले निर्माणमा अखिलको कस्तो भूमिका रह्यो भन्ने कुरा भनिरहनु पर्दैन ।
दामोदरजी अखिल पाँचौंको अधिवेशन अगाडि नै पार्टी संगठनकै लागि शिक्षक भएर सिन्धुपाल्चोक जानुभयो । अखिलको सम्मेलन पछाडि क. जिवराज आश्रितले मलाई ‘पार्टी कामको लागि पाल्पा पठाउने निर्णय गरेको’ जानकारी दिनुभयो । मैले ‘पाल्पाभन्दा ताप्लेजुङ नै मेरो निम्ति उपयुक्त हुन्छ कि !’ भन्ने जिज्ञाशा राखेको थिएँ । मलाई ताप्लेजुङ पठाउने निर्णय भएछ, ताप्लेजुङतिर लागें ।
दामुजी सिन्धुपाल्चोकबाट फर्केर धरान विजयपुर स्कुलमा सन्चालक र शिक्षक भएर बस्नुभएकोले लामो समय भेटघाट हुन सकेन । पछि उहाँ काठमाडौंमा आएपछि पुन भेटघाट सुरु भयो । उहाँले सतुंगलमा सनसाइन स्कुल सुरु गर्नुभयो । कोमल भटराईजी पनि त्यसमा रहनुुभएको रहेछ । कोमलजीले तपाई पनि स्कुलमा आउनु होस् भन्नुभएको हुनाले सनसाइन स्कुलको सन्चालनमा म पनि सहभागी भएँ । त्यसपछि दामोदरजीसँगको भेटघाट निरन्तर भइरह्यो ।
दामोदरजीको शिक्षक पेसामा रहेको अनुुभव र मेहनतले सनसाइन स्कुललाई त्यस क्षेत्रको स्तरीय र आकर्षक स्कुल बनाउनु भएको थियो । उहाँ ललितपुर घरबाट सतुंगल स्कुलसम्म हिडेर जाने र हिडेरै घर फर्कने गर्नुहुन्थ्यो । कहिले काहि परीक्षाको समयमा मात्रै आउन जान गाडी प्रयोग गर्नुहुन्थ्यो । ‘तपाईको हिडाई धेरै लामो त भएन ?’ भनेर बेला बेला भन्ने गर्थें । उहाँले स्कुल छाड्ने हुनुभए पछि कोमलजी र मैले पनि छाड्यौं ।
दामोदरजी एउटा असल शिक्षक र असल अभिभावक हुनुहुन्थ्यो । उहाँले पढाएका विद्यार्थीहरु जो जहाँ भए पनि उहाँप्रति आदरभाव राखेको देखिन्छ । उहाँ कसैलाई अन्याय नगर्ने र अन्याय पनि नसहने स्वभावको हुनुहुन्थ्यो । उहाँ आफुलाई लागेको कुरा प्रष्टसँग बोल्ने मान्छे, सबैको हित र उन्नति चाहने मान्छे । सानोलाई माया गर्ने, कसैप्रति भेदभाव नराख्ने दामोदरजीको एउटा विशेषता उहाँ मान्छे हेरेर उसको स्वभाव र नियत बताउन सक्नुहुन्थ्यो । एकपटक एकजना साथीले आफ्नो आफन्त पार्टनरलाई लिएर स्कुल खोल्न भनेर मेरो प्रेसमा केही छाप्न आउनु भएको थियो । त्यतिबेला दामोदरजी, मुकेशजी, कोमलजी प्रेसमा थियौं । हाम्रो मित्रको पार्टनर उसले विश्वास गरेको आफन्त थियो । पार्टनर गइससकेपछि दामोदरजीले हाम्रो साथीलाई ‘यसको नियत राम्रो छैन, तपाईलाई डुबाउछ । मिल्छ भने आजै, अहिले छाडिहाल्नुहोस्’ भन्नुभयो । नभन्दै दामोदरजीले जे भन्नुभएको थियो, ६ महिना पनि नपुग्दै त्यही भयो ।
दामोदरजीसँग स्कुलमा साथै भएपछि एक अर्काको दुःख सुखमा सर सहयोग भइरह्यो । मेरो छोराहरुको पढाइमा रेखदेख र बच्चाहरुको आत्मबल बढाउन उहाँको विशेष सहयोग रह्यो । स्कुल छाडेपछि हामीहरुको बिचमा भेटघाट अझै बाक्लो भयो । डा. केदार वराल, डा. मुकेश चालिसे, अच्युत गौतम, कोमल भटराई र म बेलाबेला भेट भइरहन्थ्यौं । हाम्रो यो समुहको भेटघाट समय समयमा चलिरह्यो । पछिल्लो पटक सातदोबाटो छेउको बर्गर हाउसमा दामोदरजी, मुकेशजी र मेरो भेट भएको थियो । त्यो भेटघाट पछि दामोदरजी अलि अस्वस्थ हुनुभएकोले हाम्रो भेटघाट हुन सकेन । त्यसपछि फोनमा मात्रै कुराकानी हुन थाल्यो ।
दामोदरजीले आफ्नो पिताजीलाई दिल्लीको मेदान्त अस्पतालमा उपचारार्थ लानुभएको थियो । त्यहाँ पिताजीको उपचारबाट दामोदरजी सन्तुष्ट हुनुहुन्थ्यो । त्यसैले मैले वर्षदिन अगाडि ‘उपचारार्थ एक पटक दिल्ली जान’ सुझाएको थिएँ । उहाँले ‘यहाँ पनि रोगको यकिन भएकै छ, उपचार पनि राम्रै भइरहेको छ’ भनेर जाने इच्छा गर्नुभएन ।
उपचारको क्रममा दिल्ली जाँदा पाटन अस्पतालबाट शिघ्र स्वास्थ्यलाभको कामना दिएर एम्बुलेन्शमा विदाइ गरेका थियौं । उहाँको उपचार दिल्लीमा सफल हुन सकेन । दामोदरजी हामीबाट सदाको लागि विदा हुनुभयो । एउटा असल मित्र दामोदरजी बित्नुभएको कुरा सपना जस्तो लागिरहेको छ । दामोदरजी हाम्रो सम्झनामा रहिरहनु हुनेछ । अल विदा । हार्दिक श्रद्धाञ्जली दामोदरजी ।