फिल्म क्षेत्रमा कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन भएको नम्रताको टिप्पणी
काठमाडौँ। बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि भारतलगायत नेपालमा पनि मानसिक स्वास्थ्यको समस्यासँग जोडिएको बहस तीब्र भएको छ। साथै यतिबेला चलचित्र नगरीमा नातावाद हाबी भएको विषयले फेरि एक पटक चर्चा पाएको छ। यसै कारणले अन्य कलाकारको अवस्था यस्तै हुने र भएको टिप्पणी भैरहेको छ।
नेपाली फिल्म क्षेत्रकी नायिका नम्रता सापकोटाले नातावादको विषयमा बलिउडसम्म पुग्नै नपर्ने भन्दै नेपाली चलचित्र क्षेत्रमा नै यो हाबी भएको उल्लेख गरेकी छिन्। उनले ५०–६० प्रतिशत चलचित्रकर्मीले आफ्नैलाई महत्व दिदा अरु कलाकार डिप्रेसनमा नगएर के गर्नु त भनेर प्रश्न समेत गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत उनले भनेकी छिन्,‘बलिउडको किन कुरा गर्नुपर्यो, सबै त म भन्दिन तर हाम्रो क्षेत्रमा नै अधिकांश यस्तो उदाहरण छ। कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन छ। कलाकार चाहियो भनेर घोषणा गरिन्छ, तर अन्त्यमा आफ्नै छोराछोरी, भतिजाभतिजीलाई नै लिएर काम गरिन्छ।’
उनले ‘यहाँ मैले मिहिनेत गरेको छु भनेर केही नै हुँदैन। जसको राम्रो पकड छ, अभिनय जिरो भएपनि जसले व्यापार दिन सक्छ उसैले यहाँ काम पाउँछ। म कलाकार भएर भन्दा गलत सोचिएला तर मैले मात्र होइन धेरैले यही महशुस गर्नुभएको छ।’ भनेकी छिन्।
साथै अहिले एकले अर्कालाई के भएको छ। कुरा सेयर गर्नु भन्ने कुराहरू जस्ता स्टाटसहरु धेरैले पोष्ट गरिरहेका छन्। तर यो बास्ताविकतामा सत्य नभएको पनि बताएकी छिन्। र कसैको लागि भरेर समाजिक सञ्जालमा पोष्ट गरिरहनु नपर्ने बरु त्यसको सट्टा आफ्नो वरिपरिको व्यक्तिलाई के भएको छ भनेर फोन गरेर बुझ्नु पर्ने बताएकी छिन्।



















