बलिउड कलाकारहरू पारिश्रमिक घटाउने पक्षमा
काठमाडौँ। कोरोना भाइरसको महामारीले गर्दा विश्वमा मनोरञ्जनलाई ठूलै धक्का पुगेको छ। फिल्म सुटिङ र रिलिज नहुँदा धेरै घाटा बेहोर्नु परेको स्थिति छ। त्यस्तै साढे दुई महिनादेखि ठप्प रहेको बलिउडका छायाङ्कनहरु लकडाउन खुकुलो भए सँगै केही रुपमा विस्तारै सुरुवात हुँदै छ। तर लामो समय सम्म चलचित्रको कामहरू ठप्प हुनुले गर्दा फिल्मको बजेटमा धेरै प्रभाव परेको छ। फिल्म समीक्षकका अनुसार बलिउडलाई तीन हजारदेखि चार हजार करोड रुपैयाँको नोक्सान हुनेछ। यो सङ्कटकालमा फिल्म निर्माताको आर्थिक स्थिति हेरेर बलिउडका केही कलाकारहरूले भने आफ्नो पारि श्रमिक घटाउन तयार भएका छन्।
माधुरी दीक्षित
बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितले एक अन्तर्वार्तामा अहिले आफूहरूले निर्मातालाई सपोर्ट गर्ने बेला भएको र सबै ठिक तरिकाले काम सुरु होस् भन्ने सोच लिएको कारण आफ्नो पारि श्रमिक घटाउनु जरुरी रहेको बताएकी छिन्। यसका लागि आफू निर्माताको पक्षमा उभिन तयार रहेको बताएकी छिन्।

कार्तिक आर्यन
बलिउड अभिनेता कार्तिक आर्यनले पनि पारि श्रमिक घटाउने इच्छा व्यक्त गरेका छन्। ‘म कसैको नोकरी खोस्न चाहन्न। यसको समाधान खोज्नुपर्छ जसबाट समस्या उत्पन्न नहोस् अनि निर्माता पनि बाँचून्। फिल्म उद्योग एकसाथ अघि बढाउन र फेरि काम सुरु गर्न जे गर्नुपर्छ म त्यसका लागि तयार छु। सामूहिक रूपमा गरिने निर्णय मलाई मान्य हुनेछ।’ उनले भनेका छन्।

तापसी पन्नु
अभिनेत्री तापसी पन्नुले पनि अहिले कुनै सुटिङ नभएको र त्यसैले तलब पनि पाइएको नपाएको साथै काम सुरु भएपछि पारिश्रमिक घटाउनु पर्यो भने पनि आफू तयार भएको बताएकी छिन्।




















