बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या
काठमाडौँ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका राजपुतले ‘काई पो चे’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेका थिए। ‘सुद्ध देशी रोमान्स’, ‘रब्ता’, ‘पिके’, ‘एमएस धोनी’ , ‘केदारनाथ’, ‘छिछोरे’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन्। सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिछोरे प्रदर्शनमा आएको थियो। श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो। यो चलचित्रले जस्तो सुकै अवस्थामा पनि आत्माहत्या नगर्ने संदेश छाडेको थियो। तर जीवनको जस्तोसुकै परिस्थितिमा पनि आत्महत्या नगर्ने सन्देश दिँदादिँदै सुशान्त आफ्नै जीवनसँग हारेका छन्।
उनले समाजिक सञ्जालमा पछिल्लो समय गरेका पोष्टहरुले उनी केही न केही मानसिक तनावबाट गुज्रिरहेको देखिन्छ। केही दिन अगाडि इन्स्टाग्राममा उनले आमाको तस्विर शेयर गर्दै सोही भाव पोखेका थिए। जीवनको एक्लोपनले पनि कहिँ कतै उनलाई खाएको हुन सक्छ। टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए।
यसअघि जुन ८ तारिखमा दिशा सालियनले पनि आत्महत्या गरेकी थिइन्। २८ वर्षीया उनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। मुम्बईमा उनी आफ्नो मंगेतर सँग बस्दै आएकी थिइन्। त्यसअघि उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व म्यानेजरको रुपमा काम गर्थिन्।



















