मेस्सी र सुआरेज मालोर्काविरुद्ध खेल्न तयार
एजेन्सी। क्याटलान क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीहरू कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज मलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन्।
‘हामीलाई कुनै शङ्का छैन। मलोर्काविरुद्धको खेलका लागि मेस्सी पुर्ण रुपमा तयार छन्। प्रशिक्षण दौरान सामान्य समस्या देखिएपछि केही समय मैदान बाहिर रहेपनि उनी टिमसँगको प्रशिक्षणमा जोडिइसकेका छन्’,प्रशिक्षक सेटिनले भने, ‘अर्का खेलाडी लुइस सुआरेज पनि मलोर्काविरुद्धको खेलका लागि तयार छन्। तर, उनले पुरै समय खेल्न सक्ने नसक्ने भन्न सकिने अवस्था छैन।’
शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना भाइरसको महामारी पछि सुचारु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दैछ। प्रशिक्षण दौरान मांशपेशीमा समस्या देखिएपछि मेस्सी केही समय प्रशिक्षण मैदान बाहिर रहेका थिए। तर, गत सोमबारदेखि नै मेस्सी टिमसँगको पूर्ण प्रशिक्षणमा फर्किसकेका छन्। सुआरेज घुँडाको शल्यक्रियापछि गत जनवरी देखि नै मैदान बाहिर रहेका थिए।



















