पूर्व युवराज्ञी हिमानी शाह छोरीहरूसँग टिकटकमा रमाउँदै
काठमाडौँ। कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै फुर्सदिला बनेका मानिसहरू टिकटकमा रमाउन थालेका छन्। लकडाउनले घरभित्रै सीमित भएकाहरूको लागि टिकटक दिन कटाउने सजिलो माध्यम समेत बनेको छ। अहिले टिकटकको प्रयोग युवापुस्तामा व्यापक छ। मानिसहरू टिकटक भिडियो बनाएर रमाइलो गरिरहेका छन्। टिकटक अभिनयका कारण कति त कलाकार भएर चलचित्रमा समेत अभिनय गर्ने मौका पाएका छन्।
चलचित्र क्षेत्रका अधिकांश नायक नायिकाहरू पहिलेदेखि नै टिकटकमा रमाउने गरेको भएपनि अहिले रुचि नहुनेहरूले समेत लगाव देखाएका छन्। यही मेसोमा पूर्व युवराज्ञी हिमानी शाहको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनी टिकटकमा आफ्नी छोरीहरूसँग तालमा ताल मिलाउदै नाचेकी छिन्। छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन्।
गायक सविन राईले गाएको ‘गुरासको फेदमुनि सम्झना छायाँ’ बोलेको गीतमा उनी छोरीहरूसँग नाचिरहेकी देखिन्छिन्। त्यस्तै, हिमानीका पति पूर्व युवराज पारस शाह पनि टिकटकमा भाइरल छन्। उनको भिडियो अरुले प्रयोग गरेर टिकटक बनाइरहेको भेटिन्छ।




















