एकता कपुरलाई माफी सहित सय करोड तिर्न अल्टिमेटम पत्र
काठमाडौँ। चर्चित बलिउड निर्मात्री एकता कपुरलाई हिन्दुस्तान भाउ नामक संस्थाले मुम्बई प्रहरीमा उजुरी दर्ता गरेपछि एकता कपुरको नाममा अल्टिमेटम पत्र समेत पठाएको छ। जसमा, उनले माफी माग्नुपर्ने र भारत सरकारलाई एक सय करोड जरिवाना पनि तिर्नुपर्ने बताइएको छ। उनले निर्माण गरेको वेभ सिरिज ‘एक्सएक्सएक्स अनसेन्सर्ड २’ यतिबेला विवादमा फसेको छ। यो वेभ सिरिजको एक भागमा देखाइएको दृश्यले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माण कम्पनीविरुद्ध उजुरी परेको हो।
प्रसारित भाग हटाउनुपर्ने, भारतीय सेनासँग माफी माग्नुपर्ने र जरिवाना स्वरुप भारत सरकारको खातामा सय करोड तिर्नु पर्ने माग गरे पछि अहिले एकता तनावमा परेकी छिन्। यदि, अल्टिमेटमलाई वेवास्ता गरेको खण्डमा सर्वोच्च अदालतमा उजुरी दिने र बालाजी फिल्मलाई बहिष्कार गर्ने चेतावनी समेत दिइएको छ।
उत्तल सिरिजमा कलाकार अदिति कोहलीले आर्मी अफिसरको पत्नीको भूमिका निभाएकी छिन्। उनले आफ्ना पति ड्युटीमा गएपछि एक व्यक्तिलाई घरमा बोलाएर पतिको युनिफर्म लगाई अन्तरङ्ग दृश्य दिएको देखाइएको छ। यो दृश्यलाई हिन्दुस्तानी भाउले भारतीय सेनाको अपमान गरेको भन्दै उजुरी दिएको बताइएको छ।



















