सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीको सूचीमा अभिनेता अक्षय कुमार
काठमाडौँ। फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूची निकालेको छ। यो वर्ष सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा चर्चित बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्। भारतमा सबैभन्दा बढी कमाई गर्ने अभिनेताको रुपमा चिनिने उनले फोर्ब्सको विश्वका सय सबैभन्दा धेरै कमाउने कलाकारको सूचीमा पनि आफ्नो नाम लेखाएका छन्।
जसमा उनले हलिउडका कयौँ ठूला स्टारलाई उछिनेका छन्। फोर्ब्सको रिपोर्ट अनुसार, अक्षय कुमार एक मात्र भारतीय अभिनेता हुन्, जसको नाम २०२० हाइएस्ट पेड एक्टरको लिस्टमा सामेल भएको छ। फोर्ब्स २०२० को हाइएस्ट पेड सेलिब्रेटीको लिस्टमा उनको नाम ५२औं स्थानमा छ।
कमाईको मामलामा उनले विल स्मिथ, जेनिफर लोपेज र इन्टरनेशनल टप पप स्टार रिहानालाई समेत उछिनेका छन्। फोर्ब्स रिपोर्टका अनुसार, अक्षयले वर्षमा ४८.५ मिलियन डलर कमाई गर्ने गरेका छन्। अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन्। एक वर्षमै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयको हातमा अहिले विज्ञापनको पनि कमी छैन। सामाजिक कथा बोकेका चलचित्रमा काम गरेपछि उनको करिअर चम्किएको छ। यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ।
यस सूचीको उत्कृष्ट १० भित्र काइली जेनर, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार, टेलर पेरी, कान्ये वेस्टलगायत सेलिब्रेटीहरू पर्न सफल भएका छन्। यद्यपि काइलीलाई केही दिनअघि मात्रै फोर्ब्सले यो सूचीबाट हटाइसकेको छ। फोर्ब्सको यो लिस्टमा प्रियंका चोपडाका पति निक जोनस पनि परेका छन्।



















