खेम सेन्चुरीको ‘कामी दाईको छोरो’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ। लोक तथा दोहोरी गायक खेम सेन्चुरीको ‘कामी दाईको छोरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। खेम सेन्चुरीको साथमा शान्ति श्री परियारको आवाज रहेको अन्तर्जातीय प्रेम सम्बन्धको कथामा आधारित उक्त गीतको म्युजिक भिडियो गायक सेन्चुरीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा प्रेम गरेका जोडी जातकै कारणले एक हुन नसकेपछि सँगै मृत्युवरण गरेको भावलाई समेटिएको छ। अनिष दवाडीको शब्द सङ्गीतमा तयार पारिएको यस गीतको भिडियोमा गायक खेम सेन्चुरी आफै र सिर्जना रेश्मी मगरको मुख्य अभिनय रहेको छ।
यही जेठ १० गते प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज बिक सहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए। त्यसमा नवराज सहित ६ जनाको ज्यान गएको थियो। उनीहरूको शव भेरी नदीमा भेटिएको थियो। यस्ता घटनाहरू नेपालमा भइरहने साथै सुन्नमा र देख्नमा आईरहेका छन्। छुवाछुत र जातीय विभेद दण्डनीय हुने व्यवस्था लागू भैसके पनि अन्तर्जातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन्।



















