सरकारको नियम पालना गर्दै अभिनेत्री मनिषा क्वारेन्टाइनमा
काठमाडौँ। अभिनेत्री मनिषा कोइराला क्वारेन्टाइनमा बसेकी छिन् । भारतबाट मङ्गलबार नेपाल आएकी अभिनेत्री मनिषा काठमाडौंको एक होटलमा १४ दिनको लागि क्वारेन्टाइनमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै आलोचना झेलेकी उनी केही समय परिवारसँग बिताउन मङ्गलबार नेपाल आएकी हुन्।
अभिनेत्री मनीषा मुम्बईबाट बनारससम्म हवाई जहाजमा र बनारसबाट आफ्नो निजी गाडीमा नेपाल आएकी बताइएको छ। बनारसबाट स्थलमार्ग हुँदै उनी मङ्गलबार रूपन्देहीको सीमानाका भैरहवाको बेलहिया हुँदै बुबा प्रकाश कोइराला, आमा र काकीसँग नेपाल आएकी छिन्। नेपाल आएपछि उनी होटलमा क्वारेन्टाइनमा बसेकी हुन्। मनीषाको पारिवारिक सूत्रका अनुसार उनी उच्च सतर्कताका साथ काठमाडौंको एक होटलमा बसेकी जनाइएको छ।
विदेशबाट नेपाल आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी नियम रहेको छ। सोही नियमलाई पालना गर्दै आफ्नो घर नगई अभिनेत्री मनीषा, आफ्ना बुबाआमासँग होटल क्वारेन्टाइनमै बसेकी बताइएको छ। नेपालले सार्वजनिक गरेको नयाँ नक्साको समर्थनमा दिएको अभिव्यक्तिले उनी केही समयअघि चर्चामा आएकी थिइन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा चाँडै जारी हुने विषयमा लेखेको ट्विटमा मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियामा खैलाबैला मच्चिएको थियो ।
उनले आफ्नो जन्मभूमिको समर्थनमा दिएको निडर अभिव्यक्तिको अहिले नेपालमा सबैले तारिफ गरिरहेका छन्। सरकारले गएको जेठ ७ गते नै नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरिसकेको छ।



















