चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस

वेलकम खबर
जेष्ठ २१, २०७७

काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। दर्खास्त दिने मध्ये तीन जनाको नाम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बिहीबार सिफारिस गरेको हो। नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरिएको मन्त्रालयको स्रोतले जनाएको छ।

यी तीन जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी तथा दीपक  श्रेष्ठ गरी थप सात जनाले आवेदन दिएका थिए। पदपूर्तिका लागि आवेदन दिन मन्त्रालयले योग्यतासहितको सार्वजनिक सूचना जारी गरेको थियो। आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो। साथै अब बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गर्ने बताइएको छ।

गत वर्षको २९ मङ्सिरमा चलचित्र विकास बोर्डको तत्कालीन अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण निधन भएको थियो। त्यसपछि खाली रहेको सो पदका लागि मन्त्रालयले वैशाख १६ सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचना आह्वान गरेको थियो।

बोर्डमा राजनीतिक आस्थाको आधारमा अध्यक्ष नियुक्त हुनका लागि सिफारिस भएका तीनैजना प्रतिस्पर्धी बलियो मानिएको छ।

भुवन केसी
लामो समय अभिनेताको रूपमा नेपाली चलचित्र उद्योगमा राज गरेका अभिनेता भुवन केसीलाई निर्माताका रूपमा पनि सफल मानिन्छन्। उनले नेपाली चलचित्र उद्योगलाई धेरै हिट फिल्म दिएका छन्। आफ्नो अनुभवले विषम परिस्थितिमा पनि बोर्ड हाँक्ने क्षमता आफूसँग भएको भुवनको दाबी रहेको छ। उनको तत्कालीन एमालेले सांसदका लागि पनि नामसमेत सिफारिस गरेको थियो। उनी २०७४ को संसदीय निर्वाचनमा तत्कालीन एमालेको समानुपातिक सूचीमा परेका थिए।

राजेश थापा
राजेश थापा सांस्कृतिक संस्थानका पूर्वमहानिर्देशक हुन्। संस्थानमा उनको कार्यकाल विवादरहित थियो। राजनीतिक रूपमा पनि उनको पहुँच बलियो रहेको मानिन्छ। संस्थान हाँकेको प्रशासनिक अनुभव उनी सँग रहेको छ। यस्तै काभ्रेका चलचित्र निर्देशक दयाराम पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा निकट मानिन्छन्। दयाराम अहिले पनि बहालवाला बोर्ड सदस्य पनि हुन्।

 

दयाराम दाहाल
दयाराम दाहाल एक सफल निर्देशक हुन्। निर्देशकको रूपमा काम गरेका उनले नेपाली चलचित्र उद्योगलाई धेरै हिट फिल्म दिइसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*