अभिनेत्री मनिषा कोइराला भैरहवा नाका हुँदै नेपाल आइन्
काठमाडौँ। अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छिन्। उनी स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश आएकी हुन्। मङ्गलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी बताइएको छ।
लिम्पियाधुरा सहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनी माथि आक्रोश पोखे सँगै उनी विवादमा तानिएकी थिइन्। मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए। उनीहरूले मनिषाले त्रिपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए।
मनिषाले नेपाल सरकारले हालै परिष्कृत नक्सा जारी गरेकोमा एक ट्वीट गर्दै खुसी व्यक्त गरेकी थिइन्। सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो।



















