‘ला लिगा’ सञ्चालन गर्न स्पेन सरकारको अनुमति

वेलकम खबर
जेष्ठ ११, २०७७

काठमाडौँ। स्पेनी सरकारले देशको सबैभन्दा ठूलो व्यावसायिक फुटबल लिग ‘ला लिगा’ को म्याच आउँदो दोस्रो सातादेखि देखि सुरु गर्न अनुमति दिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन ८ बाट ला लिगा सुचारु गर्न सकिने जानकारी दिएका हुन्। ला लिगा आयोजकले स्थगित ‘ला लिगा’ जुन १२ तारिखबाट सुचारु गर्ने बताइरहँदा सरकारले नै त्यो भन्दा अगाडिको मितिबाट सुचारु गर्न अनुमति दिएपछि झन सहज भएको बताइएको छ।

यसअघि १२ जुनमा सेभिया र रियल बेटिस बीचको डर्वी खेलबाट ‘ला लिगा’ सुचारु हुने सूचना बाहिरिएको थियो। कोरोनाका कारण दुई महिना स्थगित भएको ला लिगा सुचारूका लागि आयोजकले प्रोटोकल बनाइरहेका छन्।

जस अन्तर्गत रहेर क्लवहरुले सामाजिक दूरी कायम गरेर १० जनाको समुहमा प्रशिक्षण गरिरहेका छन्। गत मार्च १२ तारिखबाट स्थगित भएको ‘ला लिगा’का केही खेलाडीमा पनि कोरोना सङ्क्रमण देखिएको थियो। प्रशिक्षण सुरु हुनु भन्दा अगाडि सबै खेलाडीको परिक्षण गरिएको थियो।

यस सिजन ‘ला लिगा’मा बार्सिलोना शीर्षस्थानमा रहेको छ। लिगमा ११ खेल बाँकी रहँदा बार्सिलोना रियल म्याड्रिड भन्दा २ अङ्कले अघि छ। बार्सिलोनाको ५८ तथा रियलको ५६ अङ्क रहेको छ। मलोर्का, लेगानेस र एस्पान्योल रेलिगेसन जोनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*