रोनाल्डो टिमसँगै प्रशिक्षणमा सामेल भए

वेलकम खबर
जेष्ठ १०, २०७७

एजेन्सी। पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटाली पुगेर दुई साताको क्वारेन्टाइन बसाइ पूरा गर्दै  युभेन्टसको टिमसँग प्रशिक्षणमा सामेल भएका छन्। इटालियन सिरी ‘ए’ सुरु हुने सङ्केत भएपछि रोनाल्डो १६ दिनअघि पोर्चुगलको मडेरियाबाट आफ्नै निजी विमानमा आफ्नो परिवारसहित इटाली पुगेका थिए। इटाली सरकारले विदेशीहरूको हकमा दुई साता अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको थियो। उनले त्यही नियम पालना गर्दै मङ्गलबारदेखि टिमसँगको प्रशिक्षणमा जोडिएका छन्।

यो दुई महिनाभन्दा बढीको समयमा रोनाल्डो मडेरियामा रहे पनि आफ्नो नियमित प्रशिक्षणलाई जारी राखेका थिए। पछिल्लोपटक १४ दिने क्वारेन्टाइनमा रहँदा रोनाल्डोले आफ्नो छोरा क्रिस्टियानो रोनाल्डो जुनियरसँग बगैँचामा प्रशिक्षण लिएका थिए।

इटालीयन फुटबल फेडेरेसन (एफआईजीसी) ले सरकारको अनुमति पाएको अवस्थामा १५ जुनदेखि सिरी ‘ए’ फुटबल सुरु गर्ने तयारी गरिरहेको छ।
युभेन्टसले इटालीमा लकडाउन हुनुअघि ८ मार्चमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको थियो। युभेन्टस ६३ अङ्क जोडेर शीर्ष स्थानमा छ। ६२ अङ्क जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*