ओसाका बनिन् इतिहासमै सबैभन्दा बढी कमाउने महिला खेलाडी
एजेन्सी। जापानकी टेनिस खेलाडी नाओमी ओसाका विश्वको सबैभन्दा बढी कमाउने महिला खेलाडीमा परेकी छिन्। अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पछि पार्दै ओसाका सर्वाधिक कमाउने खेलाडी बनेकी हुन्।
गतवर्ष ३७.४ मिलियन अमेरिकी डलर कमाएपछि उनी इतिहासमै सबैभन्दा बढी कमाउने खेलाडी बनेको फोब्र्सले जनाएको छ। २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना विगत चार वर्षयता लगातार सर्वाधिक पैसा कमाउने महिला खेलाडी थिइन्। फोब्र्सका अनुसार २२ वर्षीया ओसाका कमाएको रकम सेरेनाको भन्दा १.४ मिलियन डलर बढी रहेको छ।
ओसाका जापानकी चर्चित खेलाडीमा पर्छिन्। त्यसैले उनले टोकियो ओलम्पिकको प्रचार गरेकी थिइन्। उनले विश्वको ब्रान्डहरू नाइक, निसान र योनेक्स लगायतसँग सम्झौता गरेकी छिन्। हाइटीमा जन्मिएका बुबा र जापानमा जन्मिएकी आमाकी छोरी दुई पटककी ग्रान्डस्लाम च्याम्पियन ओसाका २०२० को बढी कमाउने सय खेलाडीको सूचीमा २९औं स्थानमा छिन्।
ओसाकाले सन् २०१८ मा युएस ओपनको उपाधि जितेपछि चर्चा कमाएकी थिइन्। उनले २०१९ को अस्ट्रेलियन ओपन पनि जितेकी थिइन्।



















