सन्दिप क्षेत्रीद्वारा सञ्चालित ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गर्न सरकारको चिठी
काठमाडौँ। प्रदेश २ सरकारले मधेसी समुदायलाई होच्याएको भन्दै विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न सङ्घीय सरकारसँग माग गरेको छ। प्रदेश सरकारको लेटरप्याडमा न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन माग गरेका हुन्।
यी टेलिभिजन कार्यक्रमसहित केही नेपाली चलचित्रमा सीमित व्यक्तिको रमाइलो तथा मनोरञ्जनका लागि कुनै खास वर्ग समुदाय (मधेसी) लाई शब्द, अभिनय र संकेत मार्फत होच्याउने, अपमान गर्ने, तल देखाउने र बेइज्जत गर्ने काम भइरहेको पत्रमा उल्लेख गर्दै यस्ता कार्यले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा खलल पुर्याउन सक्छ सम्भावना रहेको भनिएको छ।
गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, मधेसी आयोग, महान्यायाधिवक्ताको कार्यालय, प्रेस काउन्सिल नेपाल र चलचित्र विकास बोर्डलाई बोधार्थ गरिएको उक्त पत्रमा जनताको संवैधानिक तथा कानुनी हकको संरक्षण गर्न यस्ता विभेदकारी कार्यक्रमको निर्माण र प्रसारणमा रोक लगाउन अनुरोध गरिएको गरिएको छ।
त्यस्तै कृषि टेलिभिजनको कार्यक्रम ‘कोरोना बिर्साउने गफगाफ’मा प्रयोग भएका शब्द र विषयवस्तुले सिङ्गो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको विभिन्न सामाजिक सञ्जाल तथा जनमानसबाट आएको गुनासो प्रति पनि गम्भिर ध्यान आकर्षण गराइएको पत्रमा उल्लेख गरिएको छ।




















