मनिषा कोइरालाले आफ्नो कामले विश्व जितेकी हुन् : पुजा शर्मा
काठमाडौँ। चर्चित नायिका पुजा शर्माले अभिनेत्री मनिषा कोइरालाले आफ्नो काम र व्यक्तित्वले विश्व जितेकी भन्दै भारतीय मिडिया सँग आक्रोश पोखेकी छिन्। साथै भारतीय मिडियाहरूले सत्य केलाउन नसकेको पनि बताएकी छिन्। यस अघि अभिनेत्री मनिषाले नेपाल सरकारको कदममा समर्थन गरेको भन्दै भारतीय मिडियाहरू आक्रोशित भएका थिए। साथै चीनको इसारामा मनिषाले नेपालको साथ दिएको र भारतको खाएर चिनको गीत गाइन भन्दै मनिषा माथि खनिएका थिए। यसैलाई लिएर अभिनेत्री पुजा भारतीय मिडिया सँग आक्रोशित भएकी हुन्।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै भारतीय मिडियाको विरुद्धमा उत्रेकी छिन्। साथै भारतीय मिडियाले नेपाली र मनिषको विरुद्धमा ठुल्ठूला स्वरमा नाना भाती भनिरहदा खासै नेपाली मिडियाले साथ दिन नसकेको भन्दै गुनासो पनि गरेकी छिन्।
उनले लेखेकी छिन्, ‘आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको विषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन्। तर, उनीहरूले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो। मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभएको हैन आफ्नो कलाकारितामा उभिएर खानुभएको हो मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडिया प्रति टिठ लागेर आयो। नेपालीहरू काम र कर्मको सिलसिलामा संसारभर होलान् तर जब देश र आफ्नो जमिनको कुरा हुन्छ त्यतिबेला देशकै पक्षमा बोलिन्छ जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छ्ने पराईलाई आमा भन्न सकिदैन चेतना भया, अर्को दुःख यसमा लागेको छ की भारतीय मिडियाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभाँती भनिरहदा नेपालका मिडियाहरूले खासै आवाज उठाउन सकेनन्।’



















