मनिषाको समर्थनमा उत्रिए नेपाली कलाकारहरू

वेलकम खबर
जेष्ठ ७, २०७७

काठमाडौँ। अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको कदममा समर्थन गरेको भन्दै भारतीय मिडियाहरू खनिएका छन्। नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाले नेपाल सरकारको समर्थन गर्दै एउटा ट्वीट गरेकी थिइन्। यसैलाई लिएर उनीहरू मनिषा माथि आक्रोशित भएका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि९ट्विट गरेकी थिइन्। उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’

चीनको इसारामा मनिषाले उक्त ट्विट गरेको आरोप लगाउनका साथै भारतमा नाम कमाएर नेपाल सरकारको समर्थन गरेको भन्दै आक्रोश पोखेका छन्। यति मात्र होइन उनलाई भारतको खाएर चिनको गीत गाइन पनि भनिएको छ। यसलाई लिएर अहिले नेपाली कलाकारहरू मनिषाको समर्थनमा उत्रिएका छन्।

चर्चित हास्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै मनिषाको समर्थन गरेका छन्। उनले लेखेका छन्। ‘मनिषा कोइराला मात्र होइन, इन्डियन मिडियाले अब हामी सबैलाई लखेट्नेछन् जो उनीहरूको स्वार्थ विरुद्ध सत्य ओकल्छन्।’

चर्चित गायक प्रमोद खरेलले पनि मनिषाको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत मनिषाले भारतमा काम गर्छिन भन्दैमा उनको देशको हैसियत बिर्सिनु हुदैन भनेका छन्।

चर्चित हास्यकलाकार दीपकराज गिरीले पनि मनिषाको समर्थन गर्दै सामाजिक सञ्जाल मार्फत भारतले बारम्बार चिनको सहयोगमा नेपालले कदम चलेको भन्ने भनाइलाई घुमाउरो पारामा उतारेका छन्।

अर्का चर्चित कलाकार विल्सन विक्रम राईले पनि मनिषाको समर्थन जनाउँदै सामाजिक सञ्जाल फेसबुक मार्फत जसो गर जे गर जतासुकै लाइजाउ यो म त मेरो नेपाली हो भन्दै हामी सबैको साथ मनिषालाई भनेका छन्।

त्यस्तै अर्का चर्चित हास्य कलाकार कुमार कट्टेलले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्। ‘देश को राष्ट्रियता र स्वाभिमानको मुद्दा होस चाहे देश चिनाउने अभियान नै किन नहोस्, राष्ट्रका कलाकार र खेलाडीहरू संवाहक हुन्। देशको सिमानाको पक्षमा बोल्ने नेपालकी छोरी मनिषा कोइराला ज्यूको ट्विटले भारत हल्लाएको विषयले पनि यो पुस्टि गरेको छ। किन कला क्षेत्र र खेलकुद मा लगानी गर्नु पर्छ भन्ने कुरा पनि बुझियो होला, आदरणीय दिदी मनिषा कोइराला ज्यू प्रति उच्च सम्मान व्यक्त गर्दछु। जय देश, जय स्वाभिमान’

साथै आर्का चर्चित हास्य कलाकार दीपक आचार्यले पनि मनिषाको समर्थन जनाउदै सामाजिक सञ्जाल फेसबुक मार्फत मनिषा कोरालाले चालेको कदम प्रति धन्यबाद प्रकट गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*