नेपालको पक्षमा बोलेको भन्दै मनिषामाथि भारतीय मिडियाको आक्रोश
काठमाडौँ। नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले नेपाल सरकारको कदममा समर्थन गरेको भन्दै भारतीय मिडियाहरू खनिएका छन्। नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाले नेपाल सरकारको समर्थन गर्दै एउटा ट्वीट गरेकी थिइन्। यसैलाई लिएर उनीहरू मनिषा माथि आक्रोशित भएका हुन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन्। उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’
मनिषाको यही ट्विटलाई लिएर भारतीय मिडियाहरू आक्रोशित भएका छन्। चीनको इसारामा मनिषाले यो ट्विट गरेको पनि भारतीय मिडियाले दाबी गरेको छ। मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रिएको भन्दै आक्रोश पोखेका छन्। साथै नेपाल सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेको आरोप लगाएका छन्।



















