‘जुनुको जुत्ता’लाई अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड
काठमाडौँ। नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड हात पार्न सफ भएको छ। ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ को ६६ औं संस्करणमा ‘चिल्ड्रेन एण्ड युथ कम्पिटिसन’ अन्तर्गत अवार्ड पाउन सफल भएको हो। बुधबारदेखि जर्मनीमा सुरु भएको महोत्सवमा विश्वभरिका ६५ सयभन्दा बढी फिल्महरूबाट एक सय फिल्म छनोट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छानिएको थियो।
‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ‘चिल्ड्रेन्स एन्ड युथ फिल्म कम्पिटिसन’ विधा अन्तर्गत मे १८ मा प्रिमियर भएको थियो। सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवेरहउसेन यस पटक कोरोनाको महामारीका कारण अनलाइन संस्करण आयोजना भएको थियो।
केही समय अगाडि ‘जुनुको जुत्ता’ले अमेरिकाको लस एन्जल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड पाएको थियो। केदार श्रेष्ठले निर्देशन गरेको ‘जुनुको जुत्ता’ले पाँच वर्षीया बालिकाको कथा बोकेको छ। फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको बाल केबलकारहरूको अभिनय छ।



















