प्रिमियर लिग पुनः सुरु गर्न मतदान हुँदै
काठमाडौँ। अहिले सम्म खेलाडीले एक्लै प्रशिक्षण गरिरहेको इङ्ग्लिस प्रिमियर लिग क्लबहरूले यो हप्ता आफ्ना खेलाडीहरूलाई सानो समूह बनाएर प्रशिक्षण गर्न स्वीकृति दिने भएको छ। आउँदो जुन १२ देखि लिग सुरु गर्ने तयारी रहेता पनि खेल पुनः सुरु गर्ने सम्बन्धमा भने क्लबहरू अझै सहमत हुन सकेका छैनन्। कोरोना भाइरसको महामारीका कारण गएको मार्च १३ देखि रोकिएको लिगका खेलहरू रोकिएको थियो।
न्यूट्रल भेन्यूमा बाँकी ९२ खेल गर्ने तयारी थालिए पनि सबै क्लब त्यसमा सहमत भने देखिएका छैनन्। सोमबार लिगका २० क्लबबीच छलफल हुँदैछ। सो छलफलमा प्रशिक्षण तथा मेडिकल प्रोटोकललाई लिएर मतदान हुने भएको छ। मतदानमा प्रस्ताव पारित भएमा मङ्गलबारदेखि खेलाडीहरू पाँचजनाको समूह बनाएर प्रशिक्षण गर्न पाउने छन्। प्रस्ताव पारित हुन लिगका २० मध्ये १४ क्लब सहमति हुनु पर्ने भएको छ।



















