शुक्रबारबाट कोरियामा के लिग सुरु हुने
एजेन्सी। दक्षिण कोरियामा कोरोना भाइरसका कारण रोकिएको के लिग सुरु हुने भएको छ। २ महिना यता रोकिएको के लिग शुक्रबारबाट अघि बढाउने तयारी शुरु भएको हो। यो सँगै कोरिया लिग रोकेर शुरु गर्ने पहिलो एसियाली देश बन्ने भएको छ।
फुटबल शुरु गराउनका लागि कोरियाले विभिन्न नियमहरू बनाएको छ। खेल खाली स्टेडियममा सञ्चालन गरिनुका साथै म्याचका क्रममा सङ्क्रमणको खतराबाट बच्न विभिन्न स्वास्थ्य निर्देशिकाहरू बनाइएको छ। जसमा गोल सेलिब्रेट गर्ने देखि हात मिलाउने र गफ गर्नका लागि समेत मापदण्डहरू बनाइएको छ।
कोरोनाको सङ्क्रमण बढेका कारण कोरियाले खेलकुदका सम्पूर्ण प्रतियोगिता स्थगित साथै रद्द गरिएको थियो। मङ्गलबार त्यहाँ बेसबल शुरु भएसँगै फुटबलको पनि तयारी शुरु गरिएको हो।



















