बेलायतमा सिफारिस गर्ने प्रोेफेसरबाटै लकडाउन उल्लङ्घन, पदबाट दिए राजिनामा
काठमाडौँ। बेलायतमा लकडाउन सिफारिस गर्ने प्रोफेसरले राजीनामा दिएका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न सिफारिस गर्ने प्रोफेसर नील फग्र्युसन आफैले लकडाउन उल्लङ्घन गरेपछि पदबाट राजीनामा दिएका हुन्।
उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार पनि हुन्। उनले आफूले गरेको गल्ति स्वीकार गर्दै राजिनामा दिएको बीबीसीले जनाएको छ। साथै उनले आफ्नो राजिनामा घोषणा गर्दै गर्दा महामारी नियन्त्रणमा लिन सोसल डिस्ट्यान्सिङको पालना अत्यावश्यक रहेको र आफूबाट त्यसको उल्लङ्घन हुँदा पछुतो लागेको बताएका थिए।
उनले एक महिलालाई आफ्नो निकट आउन दिएर भौतिक दूरी कायम राख्नुपर्ने प्रावधान उल्लङ्घन गरेको समाचार डेली टेलिग्राफले प्रकाशित गरेको थियो। प्रोफेसर नीलको टिमका सल्लाहअनुसार नै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २३ मार्चमा लकडाउन घोषणा गरेका थिए।



















