साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

वेलकम खबर
असार १४, २०८०

काठमाडौँ ।  साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।

समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।

मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए०ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ ।

यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*