भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघ्यो
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १५ सय नाघेको छ। सोमबार मात्र १७५ जनाभन्दा बढीको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ६६ पुगेको छ। सोमबार भारतमा हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको हो। साथै पछिल्लो २४ घण्टामा ४ हजार सङ्क्रमित फेला परे सँगै सङ्क्रमितको सङ्ख्या ४६ हजार ४ सय ३७ पुगेको छ। सङ्क्रमितमध्ये १२ हजारभन्दा बढी उपचार पछि निको भएर घर फर्किएका छन्।
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सङ्क्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको बताइएको छ। भारतको राजस्थान, तामिलनाडु, मध्यप्रदेश र केरला राज्यमा उच्च सङ्ख्या कोरोना सङ्क्रमित रहेका छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको छ।



















