प्रदर्शन स्थगित भएको ‘हिजो आजका कुरा’को ‘माया जदौ’ करोड क्लबमा
काठमाडौँ। कोरोना भाइरस न्यूनिकरणको लागि नेपाल अहिले लकडाउनमा छ। कोरोनाको कारणले गर्दा नै धेरै प्रदर्शनमा आउन लागेको चलचित्रहरू प्रदर्शनमा आउन सकेन। त्यस्तै बैशाख १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘हिजो आजका कुरा’ पनि लकडाउनकै कारण प्रदर्शन भएन। तर यसको पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ। साढे २ महिना अगाडि युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक करोड भन्दा बढी पटक हेरिएको हो।
लोक शैलीको यो गीतले आम दर्शकको मन जित्न सफल भएको छ। गीत सार्वजनिक भएपछि यसको दृश्य बलिउड चलचित्र ‘ओम शान्ती ओम’को शिर्ष गीतसँग मिल्न गएको भनेर पनि चर्चा पनि चलेको थियो। चलचित्र रिलिज नहुँदा यो गीतले दर्शकको माया त पायो, तर चलचित्रलाई भने फाइदा कम हुने देखिएको छ।
गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। दीपक शर्माको सङ्गीत रहेको यस गीतमा आनन्द अधिकारीको शब्द साथै रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ।



















