नेपालीको बैंक खाता जनसंख्याबराबर तर, अझै ४० प्रतिशत जनता बैंकको पहुँचबाहिरै

वेलकम खबर
मंसिर २९, २०७६

‘सबै नेपालीको बैंक खाता’ भन्ने सरकारको नाराजस्तै २ करोड ९२ लाख बैंक खाता पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तर, केन्द्रीय बैंककै अध्ययन भन्छ– एकजनाको धेरै खाता भएकाले ४० प्रतिशतभन्दा बढी नेपाली अझै बैंकिङ पहुँचबाहिरै 

गएको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको कुल खाता संख्या २ करोड ९२ लाख छ । यो संख्या करिब मुलुकको जनसंख्याबराबर हो । यसले सरकारले अघि सारेको ‘एक व्यक्ति एक बैंकखाता’ नारा सफल भएझैँ लाग्छ । तर, वास्तविकता भने फरक छ । एक व्यक्तिको बैंक खाता एकभन्दा बढी भएकाले बैंकिङ पहुँच भने ६० प्रतिशतसम्म मात्र पुग्न सकेको छ । राष्ट्र बैंकको गत असोज अध्ययनले नेपालमा बैंकिङ पहुँच ६० दशमलव ९ प्रतिशत रहेको निष्कर्ष निकालेको थियो । जेठ ०७६ सम्मको व्यक्तिगत निक्षेप खाताको अध्ययन गर्दै राष्ट्र बैंकले वित्तीय पहुँचको अवस्था निकालेको थियो । अध्ययनले निक्षेपकर्ताको तीनपुस्ते नामावली निकालेर दोहोरोपना हटाएको थियो ।

६ महिनामा थपिए २३ लाख खाता
राष्ट्र बैंकले प्रकाशित गर्ने बैंकहरूको मासिक तथ्यांकअनुसार बितेको ६ महिना मात्र २३ लाख खाता बढे । अहिले बैैंंक खाताको संख्या कुल जनसंख्याको तुलनामा ५ लाख मात्र कम छ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत शुक्रबारसम्म मुलुकको जनसंख्य कुल २ करोड ९७ लाख छ । चैत महिनामा बैंकहरूमा २ करोड ६९ लाख निक्षेप खाता रहेका थिए भने अहिले २ करोड ९२ लाख पुगेको छ ।

कति हो वास्तविक पहुँच ? 
राष्ट्र बैंकले उल्लेख गरेको बैंक तथा वित्तीय संस्था (लघुवित्तसहित) को संख्याअनुसार अहिले औसतमा करिब ३ हजार २ सय सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाको एउटा शाखाबाट सेवा पाइरहेको देखिन्छ ।

बैंकरसमेत बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामा भएको वृद्धिले पहुँचमा मात्रै नभई प्रतिस्पर्धा पनि बढेकाले संस्थाको संख्यामा पनि विचार गर्नुपर्ने वेला आएको बताउँछन् ।

‘३ हजारको हाराहारी जनसंख्यालाई एउटा बैंकले सेवा दिइरहेका छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘यसैले पनि बैंकहरूको नाफा संकुचित भएको छ, अब बैंकको संख्या थप घट्नुपर्ने देखिन्छ ।’ तर दाहाल अहिले  सहकारीसमेतको आधारमा जनसंख्याको ८० प्रतिशत हाराहारीमा बैंकिङ पहुँच पुगेको दाबी गर्छन् ।

किन बढे बैंक खाता ? 
अहिले बैंक बैंकिङ पहुँच बढाउन तीव्र गतिमा लागिपरेका छन् । उनीहरूले विभिन्न योजना अघि सारेका छन् । कुनै बैंकले त खाता खोलेमा आफैं रकम हालिदिनेसम्मका योजना ल्याएका छन् । ‘केही समयअघि बैंकहरूले सबै नेपालीको खाता अभियानअन्र्तगत प्रोत्साहनस्वरुप हरेक नयाँ खातामा १ सय रुपैयाँ बैंककै तर्फबाट मौज्दात राखिदिने गरे,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘यसले पनि बैंक खातामा वृद्धि गराएको हो ।’ बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नाफा रकमबाट खर्च गर्नुपर्ने १ प्रतिशत रकम यस्तो मौज्दात राख्न प्रयोग गर्दै आएका छन् ।

पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नु र सरकारले औपचारिक रोजगारीमा रहेकालाई बैंक खातामार्फत पारिश्रमिक भुक्तानी दिनुपर्ने व्यवस्था अनिवार्य गरेकाले पनि खाताको संख्यामा वृद्धि भएको हो ।

संघीयताको अवलम्बनसँगै हरेक स्थानीय तहमा बैंक पुग्नुपर्ने व्यवस्थाले समेत बैंकमा निक्षेप खाता खुल्ने क्रममा वृद्धि भएको छ । हाल ७ सय ५३ मध्ये ७ सय ४१ मा बैंक तथा वित्तीय संख्या पुगेका छन् । राष्ट्र बैंकका अनुसार १५ महिनामा बैंक तथा वित्तीय संस्था (लघुवित्तसहित) को शाखा संख्यामा ३७ प्रतिशतले वृद्धि भएर ९ हजार १ सय पुगेको छ ।

नयाँ खाता खोल्ने हरेकसँग मोबाइल बैंकिङ
वैशाखदेखि कात्तिकसम्ममा २३ लाख नयाँ निक्षेप खाता खोलिँदा २१ लाखले मोबाइल बैंकिङ सेवा लिएका छन् । दाहालका अनुसार नयाँ खाता खोल्ने करिब ९० प्रतिशतले मोबाइल बैंकिङ सेवा लिने गर्छन् । यसका लागि बैंकले समेत ग्राहकलाई रिझाउने प्रयत्न गर्ने गरेका छन् । पुराना ग्राहकले समेत मोबाइल बैंकिङ सेवा लिन थालेकाले पनि यो संख्यामा वृद्धि भएको हो ।

त्यस्तै, चैतमा मोबाइल बैंकिङ सेवा लिनेको संख्या ६९ लाख ९८ हजार रहेकोमा यो संख्या ९० लाख ९९ हजार पुगेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको भदौको तथ्यांकअनुसार ४ करोड ११ लाखभन्दा धेरै मोबाइल प्रयोग भइरहेका छन् ।

मोबाइल बैंकिङबाट अस्पतालको शुल्क, विद्यालयको शुल्क, विद्युत् र टेलिफोनको महसुल तिर्न, एकआपसमा रकम आदानप्रदान गर्नेलगायत काम गर्न सजिलो हुने भएकाले पनि मोबाइल बैंकिङमा आकर्षण बढेको हो ।

खाता खोल्न प्रोत्साहित गरियो
गुणाकर भट्ट
कार्यकारी निर्देशक राष्ट्र बैंक

केही समयअघि बैंकहरूले सबै नेपालीको खाता अभियानलाई सघाउन आफूले सामाजिक उत्तरदायित्वमा खर्चिनुपर्ने रकमसमेत खाता खोल्नमा खर्चिए । अहिले बैंक तथा वित्तीय संस्था ७ सय ४१ स्थानीय तहमा पुगेका छन्, १५ महिनामा ३७ प्रतिशतभन्दा धेरैले शाखा विस्तारमा वृद्धि गरेका छन् ।

आक्रामक शाखा विस्तारको प्रभाव
भुवन दाहाल
अध्यक्ष, नेपाल बैंकर्स संघ

बैंक तथा वित्तीय संस्थाले आक्रामक रूपमा शाखा विस्तार गरिरहेका छन् । यसले करिब ३ हजार मानिसले बैंकको एउटा शाखाबाट सेवा पाउने अवस्था बनेको छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा यो निकै उच्च हो । शाखा संख्या धेरै भएकाले बैंकको संख्या भने थप कटौती गर्नुपर्ने देखिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*