सात महिनामा साढे ८ अर्ब रुपैयाँको अलैंची निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा (साउन–माघसम्म) ८ अर्ब ६१ करोड रुपैयाँको अलैंची निर्यात भएको छ । मुलुकमा उत्पादित अलैंचीको बजार भारत मात्रै रहेको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार ४१ लाख ५३ हजार १ सय ५० किलो अलैंची निर्यात गरिएको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा परिमाणमा ३७.१३ र मूल्यमा ५९.५४ प्रतिशतले अलैंची निर्यात बढेको छ । गत आर्थिक वर्षको सात महिनामा ५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँको ३० लाख २८ हजार ४ सय ९५ किलो अलैंची निर्यात भएको छ ।
नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैंचीको खेती ५४ भन्दा बढी जिल्लामा फैलिएको अलैंची विकास केन्द्र फिक्कलले जनाएको छ । अलैंची लगाइएको तीन चौथाइभन्दा धेरै क्षेत्र कोशी प्रदेशका १२ जिल्लामा र बाँकी मात्रै अरू प्रदेशका जिल्लामा रहेको जनाइएको छ ।
नेपालमा उत्पादन भएको ९५ प्रतिशतभन्दा बढी भारत निर्यात हुने गरेको र ५ प्रतिशत मात्रै मुलुकमै खपत हुने गरेको छ । अलैंचीको मूल्यमा उत्तारचढाव आइरहेको व्यवसायीहरू बताउँछन् । प्रतिमन अलैंचीको औसत मूल्य २०७८ र ०७९ मा ७० हजार रुपैयाँ थियो ।



















