ताप्लेजुङमै पहिलो पटक ग्रास रुट फुटबल खेल सञ्चालन

वेलकम खबर
जेष्ठ २६, २०७६

ताप्लेजुङ, । ताप्लेजुङ जिल्ला फुटबल सङ्घले आइतबार ग्रास रुट फुटबल खेल आयोजना गरेको छ । आठदेखि १३ वर्ष उमेर समूहका बालबालिकाको सहभागितामा ग्रास रुट फुटबल खेलको आयोजना गरिएको हो ।
सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको ग्रास रुट फुटबल खेलको प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभयो । खेलको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले यस्तो प्रशिक्षणमुलक खेल गतिविधिले बालबालिकामा खेलप्रति उत्प्रेरण जगाउने र समग्र खेलकुदको विकासमा सहयोग पुग्नसक्ने बताउनुभयो ।
फुटबल खेलप्रतिको जनचेतना जगाउन साथै खेलसम्बन्धी ज्ञान दिने उद्देश्यले खेलको आयोजना गरिएको ताप्लेजुङ जिल्ला फुटबल सङ्घका अध्यक्ष बालकुमार साँबाले बताउनुभयो । जिल्लामा पहिलो पटक ग्रास रुट फुटबल खेल आयोजना गरिएको र अब व्यवस्थापन तथा सञ्चालनका लागि सबैको सहयोग पाएमा यो खेल प्रत्येक सातामा एक दिन आयोजना गर्ने सोच जिल्ला फुटबल सङ्घले राखेको पनि साँबाले जानकारी दिनुभयो ।
खेल उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यहरु बलबहादुर साम्सोहाङ, प्रतापप्रकाश हाङ्गाम, होमकुमारी साँबा, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, नेकपाका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम लगायतका दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका कार्यालय प्रमुहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*